१७ अर्ब डलर बढ्यो मुकेश अम्बानीको सम्पत्ति


पुस ९, भारत । भारतीय व्यापारी तथा एशियाका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीको लागि यो वर्ष निकै राम्रो रह्यो । सन् २०१९ को डिसेम्बर २३ सम्मको अवधिमा उनको सम्पत्ति करीब १७ अर्ब डलरले बढेको ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सले देखाएको छ । यो वृद्धि एशियाली धनाढ्यमध्ये सबैभन्दा धेरै हो ।

योसँगै अम्बानीको सम्पत्ति बढेर ६१ अर्ब डलर पुगेको छ । सोही अवधिमा चिनियाँ अनलाइन कम्पनी अलिबाबा ग्रूपका संस्थापक ज्याक माको नेटवर्थ ११ अर्ब ३० करोड डलर बढेको छ ।

विश्वकै सबैभन्दा धनी व्यक्ति अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति भने १३ अर्ब २० करोड डलर घटेको सूचकले देखाएको छ । अम्बानीको स्वामत्विमा रहेको व्यापारिक घराना रिलायन्स इन्डष्ट्रिजको शेयरमा भएको ४० प्रतिशत वृद्धिले यस वर्ष उनको सम्पत्ति यति धेरै बढेको हो ।

रिलायन्सको शेयरमा भएको यो वृद्धि भारतीय शेयर परिसूचक एसएण्डपी बीएसई सेन्सेक्समा सोही अवधिमा भएको भन्दा दोब्बर धेरै हो ।दूरसञ्चार र खुद्रा कम्पनीको भविष्यमा थप वृद्धि हुने अपेक्षामा अहिले लगानीकर्ताहरुले रिलायन्समा लगानी खन्याइरहेका छन् ।

अम्बानीले समूहको वायरलेस सेवा प्रदायकमा कर्जा लिएर करीब ५० अर्ब डलर लगानी गरेका थिए । कम्पनी स्थापना भएको तीन वर्षमै यो भारतको सबैभन्दा ठूलो कम्पनी बन्यो ।

मुकेशले तेल र ग्यासमा मात्रै नभएर दूरसञ्चार र खुद्रा क्षेत्रमा समेत रिलायन्सको कथा नै परिवर्तन गरेको मुम्बईस्थित टीसीजी एसेट म्यानेजमेन्ट कम्पनीमा प्रमुख लगानी अधिकृत चक्री लोकप्रिय बताउँछन् । अम्बानीले इ–कमर्शमा पनि यस्तै गरेको उनको भनाइ छ । यी क्षेत्रमा उनले गरेको लगानी सफल भएको लोकप्रियको भनाइ छ ।

आगामी केही वर्षमा नयाँ व्यवसायहरुले रिलायन्सको आम्दानीमा ५० प्रतिशतको योगदान दिने अगष्टमै अम्बानीले बताएका थिए । अहिले यो दर करीब ३२ प्रतिशत रहेको छ । एजेन्सी  

प्रकाशित मिति : २०७६ पुष ९ गते बुधवार