बाँके-बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नकाे लागि आवाज चर्किदै, बन्याे आन्दोलन समिति


पुस १०, नेपालगञ्ज । अहिले प्रदेश नम्बर ५ मा अवस्थित बाँके र बर्दिया जिल्लालाइ कर्णाली प्रदेशमा गाभ्नुपर्ने भन्दै बेलाबेलामा राजनीतिक तहबाट आवाज सुनिदै आएका थिए । साविककाे भेरी अञ्चलमा रहेका दुइ जिल्लालाइ छुट्याएर प्रदेश ५ मा मिलाएकाे भन्दै नागरिक स्थरबाट पनि चर्काे बिराेध भएकाे थियाे ।

संविधान निर्माणका समयमा समेत सुर्खेतसँग मिसिनुपर्ने आवाज उठेपनि मधेस आन्दोलनका कारण चर्किन सकेको थिएन । तर यसपटक भने यी जिल्लालाइ कर्णाली प्रदेशमा गाभ्नुपर्ने भन्दै आन्दोलन गरिने भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा भेला भएको छ । भेलाले आन्दोलनका लागि नेपालगञ्ज उप–महानगरपालिकामा सचिवालय रहने गरि १७ सदस्यीय समिति गठन गरेको छ ।

पछिल्लो समय नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सार्वजक कार्यक्रममा नेपालगञ्जको विकासका लागि कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताउँदै आएका छन् । नेपालगञ्जका उद्योगी ब्यवसायीहरु पनि आर्थिक हिसावले पनि नेपालगञ्ज कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा रहेका छन् ।

समितिले आन्दोलनको वातावारण तयार पार्नका लागि बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद लगायतसँग छलफल गर्ने, बर्दियासँग समन्वय गरि अघि बढ्ने सहमति गरेको छ । यसैबीच नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको बैठकमा समेत यस विषयमा छलफल भएको छ । समितिमा राजनीति दलको समेत प्रतिनिधित्व रहेका कारण यसपटक आन्दोलन उठ्ने सत्ताधारी नेकपाका नेता रत्न खत्रीले बताए ।

प्रकाशित मिति : २०७६ पुष १० गते बिहिवार