पुस १५, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले सल्यान जिल्लामा कतै छाउगोठ भेटिए कानुनी कारबाही गर्ने जनाएको छ । महिला महिनावारी हुँदा सामाजिक अन्धविश्वास अनुसार छाउगोठमा पठाउने प्रथा सल्यानम हालसम्म कतै नदेखिएको र यदि कतै देखिएमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जिल्ला न्यायधिबक्ता लक्ष्मी नारायण दाहाल, प्रहरी नायब उपरिक्षक ढकेन्द्र खतिवडा, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुका बीचमा भएको छलफलका क्रममा जिल्लामा हालसम्म छाउपडी प्रथा प्रचलनमा नभएको निष्कर्ष निकालिएको हो ।
छाउपडी प्रथालाई कुरीति र कुसंस्कारका रुपमा घोषणा गरिएको छ । गृह मन्त्रालयले पुस ८ गते सल्यान सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई छाउपडी (मासिक श्राव) भएका महिलामाथि सामाजिक भेदभाव नगर्न नगराउन भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम कारवाही गर्न भनि निर्देशन दिएको थियो ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले छाउपडी प्रथाका कारण समाजमा नकारात्मक असर परेकाले छाउपडी प्रथा मान्नेलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने बताए । उनले छाउपडीका रुपमा कसैलाई छाउगोठमा राखिएको थाहा पाउने वित्तिकै जानकारी दिन सबैलाई आग्रह गरेका छन् । साथै छाउपडी प्रथालाई निरन्तरता दिनेहरु माथि क्रमशः राज्यबाट प्रवाह हुने सेवा सुविधा वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा रोक्का गरिने उनले बताए ।