पुस १५, सल्यान । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ । काठमाण्डौको दशरथ रंगशालामा भ्रमण वर्षको उद्घाटन भव्य गर्ने तयारी छ । सातवटै प्रदेशमा पनि विशेष कार्यक्रमका साथ भ्रमण वर्षको उद्घाटन हुनेछ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ-आफ्नै ढंगले तयारी गरिरहेका छन् भने सबै प्रदेशका पर्यटकीय गन्तव्यको पनि पहिचान भैसकेको छ ।
नेपाल विश्वको एक स्वर्गको टुक्का अर्थात सुन्दर देशमा पर्छ । यहाँ हरेक स्थानमा दुनियाँ मन्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्ला । यसैपनि पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको सल्यान प्रकृतिले बरदान दिएको ठाँउ हो । प्रदेश नम्बर ६ मा परेको यो जिल्ला पर्यटकीय हिसाबले निक्कै मलिलो छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन ।
बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जोडेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित छ । तर कतिपयले सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएकाले यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन् । भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासले गर्दा सल्यानका अधिकांस मानिसहरुको जीवन अझै कष्टकर छ ।
परम्परागत कृषि पेशामा आधारित यहाँको आर्थिक प्रणाली सुधार उन्मुख छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्री, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता छ । सल्यान विभिन्न किसिमका जडिबुटीहरु, अदुवा, सुन्तला, कागतीका साथै तरकारीका लागि समेत उर्वर भूमि मानिन्छ ।
सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट यहाँ आउने गर्दछन् । तर प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा ओझेलमा छ ।
यस क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु ‘पानीओत’ पनि निक्कै ठुलो महत्व रहेको छ । बढदो चोरी सिकारी र सरकारी निकायको बेवास्ताका कारण लोप हुँदै गएको यो बन्यजन्तु संरक्षण गर्ने हो भने यसैलाई हेर्नपनि लाखौँ मानिस आउनेछन् । किनकी यो बन्यजन्तु विश्वमा नै लोप हुँदै आएको छ । यस जिल्ला भित्र रमाइला ठाउँ अर्थात पर्यटकीय तथा धार्मिक स्थलहरु छन् ।
कुपिण्डे ताल
प्राकृतिक रुपमा भरिपूर्ण र पर्यटकीय हिसाबमा हेर्न लाएक स्थल हो कुपिण्डे ताल । पछिल्लो समय यसलाई कर्णाली प्रदेशको मिनी रारा भनेर पनि कतिले चिन्छन् । यसलाई सुरुमा दह भनिएपनि ठुलो क्षेत्रफलमा फैलिएकाले केहि बर्ष अघि सरोकारवाला व्यक्तीहरुले ताल भनेर नामाकरण गरेका हुन् । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो ताल निकै मनोरम र आकर्षक छ ।
चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे ताल ।
वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भक्तजनहरु समेत पुग्दछन् । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ । वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।
खैराबाङ मन्दिर
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नम्बर ११ खैराबाङमा रहेको मन्दिर स्थललाई सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि दक्षिणी भागमा खैराबाङमा पर्दछ । खैराबाङ पुग्न सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट एक घण्टाको उकालो मोटरबाटो र सदरमुकाम खलंगाबाट दुल्धारापोखरा, मार्के, मदना, हिवल्चा हुँदै डेढ घण्टाको मोटरबाटो पुग्न सकिन्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्छ । मख्यगरी शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन गर्नेहरुको भीड हुन्छ ।
छत्रेश्वरी मन्दिर
नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यानको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि चढ्ने गर्दैन् ।
छत्रेश्वरी गाउँपालिका ६ मा अबस्थित यहाँ पुग्नलाई राप्ती राजमार्गको शंकमुलबाट आधा घण्टा उकालो मोटरबाटो हिड्नु पर्छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छाँयाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।
त्यहाँ पुग्ने जो कोहीलाई छाँयाक्षेत्र साँच्चिकै आफै स्वर्ग जस्तो लाग्छ । यहाँ महाशिवरात्रीको दिन भव्य मेला लाग्ने गर्छ । जसको लागी सल्यान, दाङ, रोल्पा, रुकुम, सुर्खेत, बाँके, बर्दियाबाट समेत हजारौँ दर्शणार्थीको उपस्थिती हुने गर्दछ ।
फलाबाङ दरबार
यो सल्यानको इतिहासको धरोहर मानिने फलाबाङ दरबार पनि हो । जिल्लाको साविक फलाबाङ गाबिस र हालको त्रिवेणी गाउँपालिकामा यो पर्दछ । वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएको दरवार अहिले राज्यवाट संरक्षण पाउन नसक्दा अस्तित्व नै मेटिन लागेको छ ।
वि.सं.१८८५ मा निर्मित यो ऐतिहासिक महत्वको फालावाङ दरवार उचित संरक्षणको अभावमा अब तस्विरमा मात्र सिमित हुन पुगेको छ । जनयुद्धताका समयमा दरवार रेखदेखको जिम्मा पाएका स्थानिय व्यक्तिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण बेवारिसे बन्न पुगेको यो दरवारले आफ्नो अस्तित्व गुमाउन गयो ।
दरवारको अस्तित्व नभएपनी दरवार छेउ बटुकभैरव प्रांगणमा रहेको प्राचिन लिपिबद्ध अक्षरहरुले यो क्षेत्रको प्राचिनता तथा ऐतिहासिक महत्वलाई परिभाषित गरिरहेको देखिन्छ ।
माल्नेटाकाे अदुवा
अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यान माल्नेटाको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ ।
सल्यानका विभिन्न ठाउँमा अदुवा पाइने गर्दछ । त्यसमध्येको एक हो माल्नेटा । अदुवाको लागी माल्नेटा नेपालकै प्रमुख ठाउँ मानिन्छ । शारदा नगरपालिका १४ र १५ मा रहेको माल्नेटामा रेशाविहीन अदुवा पाइन्छ । यो पहिलेको डाँडागाउँ गा.वि.स अन्तरगत पर्दथ्यो ।
माल्नेटा राष्ट्रिय रुपमा अदुवा उत्पादनमा चर्चा पाएको गाउँको नाम हो । माल्नेटा ढारखानी क्षेत्रमा पाइने रेशाविहीन अदुवा एशियाकै उत्कृष्ट मानिन्छ । एशियामै रेशाविहीन अदुवा उत्पादनले माल्नेटा चिनिन्छ । यहाँको अदुवा देशका विभिन्न ठाउँ र विश्वका विभिन्न देशहरुका समेत पुग्ने गर्दछ । अदुवाबाट माल्नेटाबासीको जिवनस्थिर माथी उकासियको छ । यो चैत–बैशाखमा रोपिन्छ भने असोज–कार्तिकमा खनिन्छ ।
जथाक लेक
जथाक लेक सल्यान जिल्लाको सबैभन्दा अग्लो लेक हो । यो समुन्द्री सतह देखि २ हजार ८ सय मिटरको दुरीमा रहेको छ । यो छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर २ र ४ को बिच भागमा रहेको छ । यसको पुर्व्तिर रोल्पा जिल्ला पर्दछ ।
यो लेक सँगै यसको वरिवरी होचा लेकको रुपमा पारिभरा र बुँरासे रहेका छन् । यो लेकलाई सल्यान कपुरकोटबाट रुकुम झुल्नेटा जोड्ने उत्तर–दक्षिण राजमार्गले छुने गर्दछ ।
यहाँबाट सल्यानका अधिकांस ठाउँ तथा रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, दाङ, बाँके, बर्दिया, प्युठान, बागलुङ देख्न सकिन्छ । धौलागरी र सिस्ने हिमालको पनि नजिकबाट नियाल्न सकिने ठाउँ हो यो ।
यहाँ विभिन्न खाले बहुमुल्य जडिबुटीहरु पनि पाउने गर्दछ । घना जंगल र पदमार्ग यहाँको एउटा आकर्षणको रुपमा रहेको छ ।
कुमाख लेक
समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाको दोस्रो अग्लो तथा बिच भागको लेक हो । जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर पनि रहेको छ ।
पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । स्थानीयहरुले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरु बाँझकाँडाको मोख्ला र कालागाउँ थदरामा रहेको गुफाबाट निस्किएकाले गुफाहरुको लम्बाइ निकै भएको भनाई छ ।
कुमाखको टुप्पोबाट १५ जिल्लाका भू–भागहरु देख्न सकिन्छ । कुमाख पहाडबाट उत्तरमा रहेका सिस्ने, धौलागिरी, चाखुरे हिमाल, डिग्रे भगवतीको मन्दिर, जन्ती बस्ने लेकलगायतका ढुङ्गे पहाड र अधिकांश गाउँहरु एवम् तराईका विभिन्न भू–भाग अवलोकन गर्न ससकिन्छ । कुमाख पहाडको चुचुरोबाट भारतको रुपैडियासम्म देख्न सकिन्छ ।
मालिका लेक
सल्यानको अर्काे एउटा आकर्षक लेकको रुपमा हेरिएको मालिका लेक पछिल्लो समय पर्यटकीय गन्तव्यको आकर्षण बन्दै गएको छ । दार्मा गाउँपालिका वडा नम्बर ४ र कुमाख गाउँपालिकाको सिमानामा रहेको मालिका लेक पर्यटकको आकर्षक बन्न थालेको हो । समुन्द्री सतहबाट २२ सय मिटर उचाईमा रहेको मालिका लेक धार्मिक तथा ऐतिहासीक सम्पदा सँग पनि जोडिएको छ । स्थानीयहरुका अनुसार मालिकामा पहिले एउटा पोखरी ‘दह’ थियो । जुन दहमा बच्चाहरुले पौडी खेल्न जाँदा एउटा बच्चा डुबेर मरेपछि दह पुरिएको किंवदन्ती छ ।
त्यस्तै यहाँ शताब्दी औं अघिका मन्दिरका अवशेषहरु पनि भेटिएको स्थानीयहरु बताउछन् । जुन मन्दिरमा बाईसे चौबीसे राज्यका दर्माली राजा, बडागाउँले राजा र जाजरकोटी राजाहरुले पुजापाठ गरेको किंवदन्ती छ । राणा शासनका तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले मन्दिरमा दिएको घण्टको अवशेष पनि यहाँ केहि समय पहिले भेटिएको मालिका पर्यटकीय प्रवद्र्धन पूर्वाधार विकास समितीका उपाध्यक्ष वुद्धि थापाले लेकाली अनलाइनलाई बताए । त्यहि पौराणिकताको आधारमा अहिले यहाँ एउटा नयाँ मन्दिर समेत बनाइएको छ ।
।
कपुरकोटकाे तरकारी
सल्यानको कपुरकोट तरकारीमा प्रख्यात । सल्यान रुकुमको प्रबेशद्धारमा रहेको कपुरकोट आसपासमा रहेका गर्पा, सिनबाङ, धनबाङ, रिम तथा रोल्पाका केही गाबिसका आफुले उत्पादन गरेको तरकारीलाइ कृषि उपज बजार कपुरकोटले कपुरकोट हाटबजार ल्याउन र बिक्रि बितरण गर्न अनुरोध समेत गरेको छ ।
तरकारी खरिदका लागि नारायगढ, बुटवल, नेपालगञ्ज, धनगडी, दाङ लगायतका ब्यापारी कपुरकोट आउने गर्दछन् । कपुरकोटबाट मात्रै बर्षेनी ५ करोड भन्दा बढीको तरकारी निकासी हुने गर्दछ भने कपुरकोट आसपासका क्षेत्रमा सञ्चालन हुने एक दर्जन भन्दा बढि तरकारी बजारबाट करौडौ रुपैया बराबरको तरकारी निकासी हुने गर्दछ ।
सल्यानको सुन्तला
नेपालमा पाइने एक प्रकारको फल हो सुन्तला । यो खानाको लाई निकै स्वादिलो र रसिलो हुने गर्दछ । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ । यो पतझड वर्गको वनस्पति हो । यसको बोटमा तीखो काँडा हुने गर्दछ ।
सल्यान जिल्ला सुन्तला राम्रो उत्पदन हुने जिल्ला हो । सुन्तलाको लागी कोटमौला राप्ती अन्चलकै १ नम्बरमा पर्छ । यहाँ बर्सेनी सुन्तला फलफुलको उत्पादनबाट प्रती ब्यक्ती लाँखौको आम्दानी हुने गर्दछ । यहाँबाट बर्षेनी ४० करोडभन्दा धेरैको सुन्तला निकासी हुने गर्दछ ।
सल्यानी खुकुरी
नेपालमा आफ्नै पहिचान बनाएको सल्यानी खुकुरीलाई अब आधुनिकीकरण गरी उत्पादन सुरु गरिएको छ । आरन पेसामार्फत निर्माण गरिने सल्यान खुकुरी देश तथा विदेशमा समेत बढ्दो माग रहेको छ । सल्यानको खुकुरी उपहारको रुपमा प्रयोग हुन थालेपछि अहिले खुकुरीको माग ह्वात्तै बढेको हो ।
शारदा नदि
शारदा नदि सल्यानको प्रमुख नदिको रुपमा रहेको छ । बागचौर नगरपालिकाको शिवरथ लौराबाङबाट उत्पत्ती भई यो नदि जिल्ला भित्र सयौँ किलोमिटरको दुरी भएर बग्ने गर्दछ । यो नदि सल्यानको कालिमाटीमा दाङबाट आउने बबई नदि सँग मिसिन्छ । बबई नदि सँग मिसिएर सल्यानको भाग बन्दै बर्दियाबाट भारतमा पुग्छ । यसलाई भारतमा सयुर नदिको नामबाट चिनिन्छ ।
यो नदिले सल्यानका थुप्रै खेतहरुलाई सिचाँइ गर्छ । यो नदिका किनारमा बागचौर नगरपालिका, सिद्वकुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिका पर्दछन् ।
बोजोबारी
बागचौर नगरपालिका ९ पातिहाल्न र छत्रेश्वरी गाउँपालिका १ सिमानामा रहेको बोजोबारी एक लोभलाग्दो खालको बनस्पती हो । यससँग रोल्पाको गंगादेव गाउँपालिका सटेको छ । यहाँ देखिने बोजोको हरियो पातले देख्ने जो कोहिको पनि मन मनोरम बनाइदिन्छ ।
रोल्पा सल्यान आवतजावत गर्ने जो कोहिले पनि यहाँको बोजोबारीमा बसेर फोटो खिन्च छुटाउदैनन् । यसको पात जति सुन्दर देखिन्छ जरा पनि त्यतीकै महत्वपुर्ण मानिन्छ । यसको जरा खानाले विभिन्न खाले रोग निको हुने स्थानीय बताउछन् । तर यसको महत्व र मुल्यको विषयमा भने राज्यबाट केहि पहल भएको देखिदैन् ।
मुलपानी
कपुरकोट गाउँपालिका ४ मा रहेको मुलपानी वनस्पतीको लागी राप्ती अन्चलकै चर्चित ठाउँ हो । यहाँ विभिन्न खाले बनस्पती तथा बोट बिरुवा पाइने गर्दछ । राप्ती राजमार्ग सँग सटेको मुलपानीमा अवलोकनको लागी नेपालका विभिन्न जिल्लाबाट मानिसहरु आउने गर्दछन् । बिषेशगरी यहाँ प्राविधिक तथा विज्ञान शिक्षा संकायमा अध्यान गर्ने देशका विभिन्न कलेजबाट विद्यार्थीहरु आउने गर्दछन् । यहाँ आएपछि सबैखाले बोटबिरुवाको नाम चिन्न सकिने मुलपानी वनस्पती कार्यालयले जनाएको छ ।
कछुवा दह
सल्यानको एउटा चिनारी बोकेको कछुवा दह पनि हो । जिल्लाको कालिमाटी गाउँपालिका २ रामपुर ढोरेनीमा अवस्थित यो दह कुपिण्डे ताल पछिको सल्यानको दोस्रो ठुलो दह हो ।
२ सय ५० मिटर लम्बाईमा खुम्चिएको कछुवा दह जैविक विविधताले भरिपुर्ण छ । यस दह नजिकै देउती बज्यूको मन्दिर समेत रहेको छ । यस मन्दिरमा चिताएको पुरा हुने जनविश्वास रहेको छ । यसै मन्दिरका कारण प्रत्येक वर्ष शिवरात्रीको दिन रातदिन गरेर ३ दिन मेला लाग्ने गर्दछ ।
यहाँको दह अवलोकन गर्न सुरुसुरुमा दाङ, सुर्खेत, जाजरकोट, बाँके बर्दिया लगायतका क्षेत्रबाट पर्यटकहरु आउने गर्दथे । यस दहसँगै धार्मिक महत्व समेत रहेको मन्दिर तथा दह वरपर रहेका संरचनाको संरक्षण गर्नु पर्ने देखिन्छ ।
बाफुखोलाकाे आलु
बाफुखोला आलु खेतीका लागी प्रख्यात मानिन्छ । साविकको बाफुखोला गाविस र हालको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने बाफुखोला सल्यानको पुर्वी उत्तरी भागमा पर्छ । जहाँ रोल्पा र रुकुमसँग सिमाना जोडिएको छ । बाफुखोला राप्ती नदिकाे सिरानमा पनि पर्दछ । यहाँबाट बग्ने पानी रोल्पाको सुकाओडार हुँदा माडी नदिमा पुगेर राप्ती नदि बन्दछ । बाफुखोलाको पहिचान भनेको यहाँ उत्पादन हुने अर्गानी आलु हो ।
बाफुखोलामा सिचाँईको सुविधा भएको प्रत्यक घरपरिवारले आलु खेती गर्दछन् । यहाँ उत्पादन हुने आलु सल्यान सँगै दाङ, बाँके, बर्दिया, बुटवल, पोखरा, काठमाडौं र भारतका विभिन्न शहरहरुमा पुग्दछ । वर्षायाममा यहाँ आलुको सिजन हुने गर्दछ । व्यवसायीक रुपमा आलु खेती हुँदै आएको बाफुखोलाबाट वार्षिक २५ करोड भन्दा धेरैको आलु निकासी हुने गर्दछ ।
बनगाढी टप्पा
सल्यानको मौलिक गीत संगित संग बनगाढी नाच र टप्पा जोडिएको छ । बनगाढी नाचले आफ्नो क्षेत्रको विभिन्न विषयबस्तुलाई समेटेको हुन्छ भने टप्पाले पनि आफ्नो भुगोल र धरातलियलाई समेटेर स्वर थपेको हुन्छ । बनगाढी नाच सल्यानको बनगाढबाट उत्पत्ती भएको मानिन्छ ।
यो अहिले सल्यानको सबै भाग रुकुम, जाजरकोट र सुर्खेतसम्म फैलिएको छ । नयाँ पुस्तामा पश्चिमेली देशहरुको सांस्कृती भित्रन थालेपछि यो विस्तारै लोप हुन थालेको छ । टप्पाले पनि सल्यानलाई चिनाएको छ । यो सल्यानको इतिहास काल खण्डदेखिनै उत्पत्ती भएको मानिन्छ । टप्पाको अझै रौनक मझै मध्यपश्चिआन्चलका जिल्लाहरुमा रहेको छ ।