आफ्नै नातिनीको ज्यान लिन खोजेपछि सल्यानमा एक व्यक्ति बन्दुकसहित प्रहरीको नियन्त्रणमा


पुस १७, सल्यान । सल्यानमा मानसिक सन्तुलन गुमेका एक व्यक्तिलाई खिया लागेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको शारदा नगरपालिका १३ स्यानीखालका ४४ वर्षीय देव बहादुर बुढामगर घरमा राखेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

मानसिक सन्तुलन गुमेका उनले घरमा आफ्नै नातिनीको ज्यान लिन खोजेपछि जिल्ला प्रहरी कार्यालय सल्यानले बुधबार नियन्त्रणमा लिएको डिएसपी ढकेन्द्र खतिवडाले लेकाली अनलाइनलाई बताए । परिवारका अनुसार उनको १० वर्ष अघिदेखि मानसिक सन्तुलन गुमेको र सुधारकेन्द्रमा राखेपछि पछिल्लो एकदुई वर्ष यता अलि ठिक भएको थियो ।

तर एक महिनादेखि उनको फेरि सन्तुलन गुमेको परिवारले जनाएको छ । सन्तुलन गुमेपछि उनले परिवारका सदस्यहरुलाई ज्यान लिने जस्तो गरेपछि प्रहरीलाई परिवारले खबर गरेका थिए । उनको साथबाट एउटा खिया लागेको बन्दुक समेत प्रहरीले बरामद गरेको हो ।

उनले आफुसँग अन्य बन्दुक समेत भएको बताएको डिएसपी खतिवडाले जानकारी दिए । मानसिक सन्तुलन गुमेका उनको अहिले सल्यान अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार