पुस २०, रूकुम । रुकुम पश्चिममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएकाे छ भने २० जना घाइते भएका छन् । जिल्लाकाे त्रिवेणी गाउँपालिका-४, को दलुगैराखोलामा लु ३ त ९०९५ नम्बरको ट्याक्टर शनिबार राति साढे ९ बजे दुर्घटना हुँदा त्रिवेणी -५, को विद्या विकास मावि जिवाङको कक्षा ८ मा अध्ययनरत १७ वर्षीय दलबहादुर विकको मृ*त्यु भएको हो ।
त्रिवेणी गाउँपालिकाको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलेर फर्किरहेका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएकाे हाे । घाइते हुनेहरूमा १६ जना विद्यार्थी रहेका छन् भने अन्य ४ जना रनिङ शिल्डमा बाजा बजाउन गएका गाउँले रहेका छन् ।
घाइतेमध्ये ३ विद्यार्थी र एक जना बाजा बजाउनेको अवस्था जटिल छ । उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकी १६ जनाको जिल्ला अस्पताल सल्ले र त्रिवेणी-२, का स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर सडकभन्दा झण्डै २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले बताए । दुर्घटनाको कारण खुलेको छैन भने चालक गणेश परियार फरार रहेको प्रहरी निरीक्षक रोकायले बताए ।