सल्यानमा एउटा क्लवले देउसी भैलो खेलेकाे रकमले पोखरी बनायाे


इन्द्र बुढाथोकी/ पुस २१, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगपालिका -४ डोप्केमा रहेको हरियाली जनजागरण युवा क्लवले आरसीसी पोखरी निर्माण गरेको छ । सामाजिक कार्य गर्ने क्लवको उद्देश्य अनुरुप ५० हजार लागतमा आरसीसी पोखरी निर्माण गरेको हो ।

यसै वर्षको देउसी भैलोमा संकलन गरिएको रकमबाट पोखरी निर्माण गरिएको क्लवका अध्यक्ष सुशिल वि.क. ले जानकारी दिए । देउसी भैलोको रकम विभिन्न क्लव तथा समूहले भोजमा फजुल खर्च गर्ने गरेपनि हरियाली जनजागरण युवा क्लबले पोखरी निर्माण गरेर समाजमा उदाहरण प्रस्तुत गरेको छ ।

वनडाडको पिपल चौतारा नजिकै निर्माण गरीएको पोखरीले गर्दा अव गाईवस्तुलाई पानी खुवाउन निकै सजिलो हुने स्थानीयले बताएका छन् । आफ्नो युवा क्लबले देउसी भैलो खेलेर उठेको रकम सधै सामाजिक कार्यमा लगाउदै आएको र विगतमा खानेपानी धारा, पाइप खरिद, निर्माण देखि १ किलोमिटर सडक समेत बनाई सकेको अध्यक्ष विकले बताए ।

सडक निर्माणका क्रममा यस अघि निर्माण गरेको पोखरी मासिएपछि क्लवले नयाँ पोखरी निर्माण गरेको हो । विकासका लागी वडा, नगर तथा अन्य सरकारी निकाय तथा संघसंस्थाको मुख ताक्दा पछाडी परिने र आफैले पनि पहल गर्ने हो भने केही गर्न सकिन्छ भनेर पोखरी बनाएको क्लवले जनाएको छ ।

प्रकाशित मिति : २०७६ पुष २१ गते सोमवार