तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठकाे हत्याका मुख्य याेजनाकारलाई जन्मकैदको फैसला


पुस २३, सल्यान । जिल्ला अदालत सल्यानले दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका मुख्य याेजनाकारलाई जन्मकैदको फैसला सुनाएको छ भने अन्य ७ जनालाइ फरकफरक वर्षकाे कैद सजाय फैसला गरेकाे छ । घटना भएको तीन वर्षपछि फैसला सुनवाई गर्दै जिल्ला अदालत सल्यानले श्रेष्ठ हत्याका मुख्य योजनाकार भनिएका तुलसिपुर ६ का टिकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद र अपहरण मुद्दामा १० वर्षकाे कैदकाे फैसला गरेकाे हाे ।

अदालतले अंविरल महतारालाइ ज्यानमा ५ र अपहरणमा ९ वर्ष, मानबहादुर भण्डारीलाइ ज्यानमा ५ र अपहरणमा ८ वर्ष, मनबहादुर पुनलाइ ज्यानमा ५ र अपहरणमा ८ वर्ष, नारायण वलीलाइ ज्यानमा ५ र अपहरणमा ८ वर्ष, रुगत थापालाइ ज्यानमा ५ र अपहरणमा ८ वर्ष, पुजा घर्तीलाइ अपहरण मुद्दामा ८ वर्ष र बिरे घर्तीलाई अपहरण मुद्दामा ७ वर्ष  कैद सजाय फैसला गरेकाे छ । आठै जनालाइ अदालतले ५०/५० हजार जरिवाना ताेकेकाे छ ।

सल्यान अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इलाशले गएको पुस १५ गते सुनवाई गर्दै यी ८ जनालाई जेल चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई अदालतले सफाइ दिएको हाे ।

दाङ प्रहरीले घटनाका मुख्य योजनकार सहित १४ जना संलग्न भएको भने पनि ११ जना मात्र पक्राउ परेका छन् । फरार रहेका अन्य तीन जना भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । फरार हुनेमा लाेकेन्द्र राज शाही, जयप्रकाश डाँगी भनिने पुर्ण बहादुर वली र नरबहादुर वली रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिष्ठित व्यवसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो । अपहरण गरेको तीन महिनापछि श्रेष्ठको शब सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याङमा फेला परेको थियो ।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार