सल्यान उद्योग वाणिज्य संघले अहिलेसम्मकै ठुलो प्रादेशिक महोत्सव आयोजना गर्दै


पुस २५, सल्यान | सल्यान उद्योग वाणिज्य संघले आगामी माघ २९ देखि फाल्गुन ११ सम्म प्रदेश स्तरीय महोत्सवको आयोजना गर्ने भएको छ । प्रादेशिक कृषि, पर्यटन, उद्योग तथा सास्कृतिक महोत्सव उद्योग वाणिज्य संघले सञ्चालन गर्न लागेकाे जनाएकाे छ ।

बिहिबार श्रीनगरमा रहेको कार्यालयमा महाेत्सवकाे बारेमा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अध्यक्ष बिर बहादुर चलाउनले स्थानीय उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले महोत्वसको आयोजना गरिएको बताए । उनले १२ दिन सम्म करिव ५ करोडको व्यापार गर्ने तथा १ लाख जनाभन्दा बढिकाे मेलामा उपस्थिती गराइने लक्ष रहेको जानकारी दिए ।

उद्याेग वाणिज्य संघका अनुसार महोत्सवमा जिल्लामा भएका कृषि उत्पादनहरू, विभिन्न पर्यटकीय स्थलहरुको फोटो पर्दशनी, परम्परागत तथा धार्मिक नृत्यहरु मुख्य आकर्षणको रुपमा रहनेछन् । त्यसैगरी सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरूकाे प्रस्तुती रहने छ भने २ सयभन्दा धेरै स्टलहरू बनाइनेछ ।

विगतका वर्षहरुमा जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकन गर्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको भएपनि यसपाली भने नहुने भएको छ । आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि यसपाली सो व्यवस्था गर्न नसकिएकाे बरु इच्छुकहरुलाई गाडी मार्फत पर्यटकीय स्थलहरुमा अवलोकनको व्यवस्था मिलाइने अध्यक्ष चलाउनेले बताए ।

याे महाेत्सव सल्यान उद्याेग वाणिज्य संघ लगाएकाे मध्ये अहिलेसम्मकै सबैभन्दा ठुलाे भएकाे महासचिव भरत बस्नेतले बताए । उनले महोत्सव सफल बनाउनका लागि स्थानीय व्यवसायीहरु तथा जिल्लाका सबै स्थानीय तहरुसंग समन्वय गरेर अगाडी बढ्ने बताए ।

कर्णाली प्रदेश भित्रका जिल्लाहरूमा लाग्ने प्रादेशिक महाेत्सवमध्ये याे महाेत्सव पहिलाे भएकाे सल्यान उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा प्रदेश काेषाध्यक्ष सुधन श्रेष्ठले बताए । उनले प्रदेश भित्रका अन्य उद्याेग वाणिज्य संघहरू सँग छलपफल गरेर यसलाइ पहिलाे बनाइएकाे र अब अन्य जिल्लाहरूले प्रादेशिक महाेत्सव लगाउन चाहेपछि त्याे दाेस्राे हुने बताए । महाेत्सवमा विभिन्न जिल्लाकाे उत्पादन र पहिचान राख्नकाे लागि अरुसँग पनि समन्वय भैरहेकाे उनले बताए । महाेत्सवकाे उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्ने कार्यक्रमकाे तय भैसकेकाे छ ।

यसैबीच संघको नवौं बार्षिक साधारण सभा आगामी माघ २२ गते हुने भएको छ । आफनो स्थापना कालको २५ वर्ष पुरा भएकोले रजत दिवस मनाउने भएको छ । यसका लागि माघ २० गते जिल्ला अस्पताल सल्यानका विरामीहरुलाई फलफुल वितरण, २१ गते श्रीनगर वजार सरसफाई कार्यक्रम तय गरिएको सल्यान उद्याेग वाणिज्य संघले जनाएकाे छ ।

प्रकाशित मिति : २०७६ पुष २५ गते शुक्रवार