सभामुख छान्न नसक्दा अनिश्चित बन्दै संसद् बैठक


पुस २६, काठमाण्डाै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा संसद् बैठक अनिश्चित बनेको छ ।

आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको भए पनि अहिलेसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।

यसअघि सभामुख चयनमा कुरा नमिल्दा गएको पुस ११ गते र १६ गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आइतबारका लागि सारिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमती नहुँदा सभामुखको टुंगो लाग्न सकेकाे छैन ।

अध्यक्ष ओलीले पूर्व एमाले र दाहालले पूर्व माओवादी तर्फबाट सभामुख चयन हुनुपर्ने अडान लिएर बस्दा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन सकेकाे छैन ।सभामुखका लागि वर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे, पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ग र नेकपाका नेता अग्नी सापकोटाको नाम चर्चामा रहे पनि नेकपाभित्र नाममा सहमति हुन सकेकाे छैन ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा गएकाे असोज १४ गते पक्राउ परेपछि सभामुख पद रिक्त छ । सत्तारुढ नेकपाले साढे तीन महिनामा पनि सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसक्दा संसद बैठक निरन्तर सूचना टाँस गरेर स्थगित गर्दै आउनु परेकाे छ ।

संसदकाे हिउँदे अधिवेशनकाे सुरुमै सभामुख चयन प्रकृया अघि बढाइने भने पनि सत्तारुढ दलभित्रै कुरा नमिल्दा अहिलेसम्म संसद बैठक अघि बढ्न सकेकाे छैन । सभामुख नहुँदा संसदको पहिलो बैठक उपसभामुखले अध्यक्षता गर्नुपरेको थियो ।शनिबार अध्यक्षद्वय ओली र दाहालसँग भेट गर्दै उपसभामुख तुम्बाहाङ्फेले पार्टीले तत्काल सभामुखकाे नाममा सहमित जुटाएर संसदकाे गतिराेध अन्त्य गर्न सुझाव दिनुभएकाे थियाे ।

अध्यक्षद्वयले तुम्बाहाङ्फेलाई राजीनामा दिन भनेकाे भए पनि आफू के कारणले सभामुखका लागि याेग्य नभएकाे हाे त्याे स्पष्ट भन्नु पर्ने भन्दै उहाँले सभामुखका लागि याेग्य भएकाे प्रमाण पेश गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०७६ पुष २६ गते शनिवार