पुस २७, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने बताएका छन् । ट्रम्पले आफ्नो दाबेदारीलाई वास्ता नगरिएको भन्दै गुनासाे पनि व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कारलाई लिएर ट्रम्पले एक बयान दिएका छन् ।
ओहायोको टोलेडोमा आफ्ना समर्थकसँग ट्रम्पले भने, ‘म तपाईँहरुलाई नोबेल शान्ति पुरस्कारको विषयमा बताउन चाहन्छु । मैले एक देशलाई बचाए र त्यसपछि त्यही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिन गइरहेको कुरा थाहा पाएँ, देशलाई बचाए बापत । त्यसपछि मैले यसबारेमा केही गर्न सक्छु कि भनेर सोचेँ । तर मैले गर्दा नै एउटा ठूलो युद्ध टरेको हो, यसबारेमा कसैलाई थाहा छैन ।’
डोनाल्ड ट्रम्पले न त नोबेल पुरस्कार विजेताको नाम लिए न त त्यस देशको नाम नै लिए । तर उनले इथोपियाका प्रधानमन्त्री अबी अहमदको बारेमा कुरा गरिरहेको प्रस्ट हुन्थ्यो । ४३ वर्षीय अहमद अफ्रिकामा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुन् ।
अबी अहमद सन् २०१८ अप्रिलमा इथोपियामा महिनौँसम्म सरकार विरोधी प्रदर्शनपछि प्रधानमन्त्री बनेका थिए । विरोध प्रदर्शनका क्रममा इथोपियाका पूर्व प्रधानमन्त्रीले पद छोड्नु परेको थियो ।
प्रधानमन्त्री बनेपछि अहमदले उदारताको परिचय दिएका थिए । उनले जेलमा बन्द हजारौँ कार्यकर्तालाई रिहा गर्दै निर्वासित असन्तुष्टलाई देश फर्किन सक्ने अनुमति दिए ।
उनले देशमा सञ्चारमाध्यमलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए र ठूला ठूला पदमा महिलाहरुको प्रतिनिधित्व गराए । गएको वर्ष अक्टोबरमा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
एजेन्सी