माघ ५, सुुर्खेत । कर्णाली प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सडक मानवमुक्त प्रदेश घोषणा गरिएको हो ।
कर्णाली प्रदेशलाई सडक मानवमुक्त गराउन वीरेन्द्रनगर नगरपालिका, प्रदेश प्रहरी कार्यालय, मानव सेवा आश्रमलगायतका संघसंस्थाले अभियान चलाएका थिए । कर्णालीका विभिन्न जिल्लाबाट उद्धार गरेर ल्याइएका ५० जनालाई वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा राखिएको छ । हालसम्म ३६ जनालाई परिवारमा पुर्नस्थापना गरिएको छ ।
कर्णाली प्रदेशलाई सडक मानवमुक्त घोषणा गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकमा कोही पनि बेसहारा हुनुनपर्ने बताउँदै अब उनीहरुकाे जिम्मा सरकारले लिने बताउनुभयो । उहाँले नागरिकहरुलाई सरकार छ भन्ने अनुभूति दिनेगरी सरकार अघि बढेको बताए । उनले भने, ‘प्रदेश सरकारले १० वटै जिल्लामा सम्बन्धित बेसहाराहरुका लागि संरचना निर्माण गर्ने तयारी गरेको छ । बालबालिकाका लागि पठनपाठनसहितको छुुट्टै संरचना र बुढाबुढीलाइ पवित्र ठाउँमा छु भन्ने अनुभूति दिलाउने गरी पारिवारिक वातावरणसहितको संरचना निर्माण गर्छाैँ ।’
हाल वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमका लागि सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाले सहयोग गर्दै आएकाे छ । वीरेन्द्रनगर नगरपालिकाले मासिक भाडा तिर्दै आएको छ भने सामाजिक विकास मन्त्रालयले १० लाख बजेट आश्रमका लागि विनियोजन गरेको छ । आश्रमका लागि आवश्यक खाद्यन्न, लत्ताकपडा लगायतका सामान विभिन्न संघसंस्था तथा व्यक्तिहरुले पनि सहयोग गर्दै आएको मानव सेवा आश्रमले जनाएको छ ।