सभामुख निर्वाचन माघ १२ गते गर्ने तयारी


माघ ६, काठमाडाैं ।  संसद सचिवालयले रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन गर्ने तयारी गरेको छ। संसद सचिवालय स्रोतका अनुसार १२ गते आइतबार सभामुख निर्वाचन गर्ने गरी तयारी छलफल भइरहेको छ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा घोषणा गरेसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सभामुख पदमा उम्मेदवारी दिने बाटो खुलेको छ। नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ।

सोमबार अपरान्ह ४ बजे जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले अध्यक्षता गरेर संसद बैठक बस्नेछ। उक्त बैठकमा सभामुख निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ। सभामुख निर्वाचन सकिएपछि तुम्बाहाङ्फेको राजीनामापछि रिक्त भएको उपसभामुखको निर्वाचन प्रक्रिया सुरू हुनेछ।

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार