सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय


माघ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदको लागि उम्मेदवारी नदिने भएको छ। केहीबेर अघि सकिएको कांग्रेसको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

‘हाम्रो बैठकमा सभामुखमा उम्मेदवारी नदिने निर्णय भयो,’ उनले भनिन्, ‘नेकपासँग स्पष्ट बहुमत पनि भएको र सभामुख पद तटस्थ हुनुपर्ने भएकोले कांग्रेसले उम्मेदवारी दिँदैन।’

उनका अनुसार संसदीय दलको बैठकमा उपसभामुख पदमा उम्मेदवारी दिने या नदिने विषयमा छलफल नै भएन। निवर्तमान सभामुख कृष्णबहादुर महरा सभामुख हुँदा पनि कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिएको थिएन। अहिले कांग्रेसले नेकपासँग छलफल गरी उपसभामुख पद आफूले पाउनुपर्ने बताउँदै आएको छ।

संविधानअनुसार सभामुख र उपसभामुख पद फरक दल र फरक लिंगको हुनुपर्ने छ। नेकपाले सभामुख पदको लागि अग्‍निप्रसाद सापकोटालाई उठाउने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार