माघ २१, काठमाण्डाै। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद निरु देवी पालले सुदूरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एक दिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिइन । उनले भनिन, ‘डलर खेती गर्नेहरुले टाउको दुखाइ गर्नु स्वभाविक हो, तर अरुको टाउको दुखाइ हुन पर्नुको कारण मैले बुझ्नसकेकी छैन । त्यस्तो टाउको दुखाइ हुनुपर्ने दाजुभाइ हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाइदिनुहुन अनुरोध गर्दछु । सुुदूरपश्चिमेली कर्णालीका हरुले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबारसम्म सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ । केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए ।
त्यसैगरी सांसद डिला संग्रौलाले नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भए पनि कार्यान्वयन नहुन नसकेको भन्दै त्यसबारे यथार्थ जानकारी सदनलाई गराउन माग गर्नुभयो । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठेको भन्दै सत्य तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराइन।
दिलेन्द्र प्रसाद बडूले कोराेना भाइरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ? भनी प्रश्न गर्नुभयो । उहाँले चीनमा रहेका नेपालीको संख्या, अवस्था र उद्धारका लागि भइरहको प्रयास र सो रोगको भरपर्दो र सुरक्षित उपचारको व्यवस्था गर्नसक्ने तयारी के छ सो बारे सदनलाई जानकारी गराउन माग गरे ।
दिव्यमणि राजभण्डारीले विश्वभर नै नकारात्मक रुपमा कोरना भाइरसका बारेमा नकारात्म सन्देश फैलिरहेको भन्दै नेपाल सरकारलाई साँचाे हिसाबले चीनलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
दुर्गा पौडेलले उखु किसानका लागि उखुको समर्थन मूल्य नै उपलब्ध गराउने र सरकारले दिएको अनुदानको रकम पुरै उनीहरुले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन । देवप्रसाद तिमिल्सिनाले उखु किसानले उखु बेच्न नपाउने र बेचेपछि पनि पैसा नपाउने समस्या सदनमा पटक पटक उठाउँदा त्यसको सरकारले सुनुवाई नगरेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराए ।
देवेन्द्रप्रसाद पौडेलले एनसेल कर लाभांश विवाद, हायात होटल, ललिता निवास, यति होल्डिङजस्ता प्रकरणहरु दिनहुँ मिडियामा छाउने गरेको भन्दै यी विषयमा छानबिन गरी सर्वसाधरणलाई यथार्थ जानकारी गराउन सरकारकोे ध्यानाकर्षण गराए ।
नारायण प्रसाद खतिवडाले भ्रमण वर्ष मनाउँदै गर्दा काठमाण्डौसँग जोडिएको नुवाकोटसम्म पुग्ने पासाङ ल्हामू राजमार्ग र टोखा छहरे सडककोे अवस्था बिग्रेको भन्दै समयमै सडकसुधार र पुनर्निर्माणमा ध्यान दिनुको साथै टेण्डर भइसकेपछि निर्माण व्यवसायीले काम नगर्ने समस्याको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।