दिल्ली चुनाव : आम आदमी पार्टीकाे अग्रता, भाजपा पछि-पछि


माघ २८, काठमाण्डौ । गएको शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको अहिले मतगणना भइरहेको छ ।  दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच निकै कडा टक्कर हुने देखिएको छ ।

सुरुवाती मतगणना चलिरहँदा याे समाचार तयार पार्दासम्म कुल ७० सिटमध्ये आम आदमी पार्टीले ५४ सिटमा अग्रता लिइरहेको छ भने भाजपा जम्मा १५ सिटमा मात्र अघि देखिएको छ ।

दिल्ली विधानसभा चुनाव यो वर्षको पहिलो चुनाव हो । एग्जिट पोल्सले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आदमी पार्टीले प्रचण्ड बहुमत ल्याउने देखाएको छ ।

दिल्ली प्रदेश भाजपा अध्यक्ष मनोज तिवारीले भने आफू एग्जिट पोलको भविष्यवाणीबाट चिन्तित नभएको बताएका छन् । उनले यो दिन भाजपाको लागि निकै राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

दिल्लीमा अहिले आम आदमी पार्टीको सरकार छ । गएको विधानसभा चुनावमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो । भाजपा भने मात्र तीन सिटमा सीमित भएकाे थियाे ।

आम आदमी पार्टी, भाजपा र काङ्ग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भनिए पनि एग्जिट पोलका अनुसार काङ्ग्रेस निकै कमजोर देखिएको छ ।

-एजेन्सी

 

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार