माघ २९, सल्यान । अतिथिमा आसनग्रहण तलमाथि बनाएको भन्दै सल्यानमा नेकपाका जनप्रतिनिधिहरुले कार्यक्रम बहिस्कार गरेका छन् । सल्यान उद्योग वाणिज्य संघले बुधबारदेखि संचालन गरेको प्रादेशिक कृषि, पर्यटन, उद्योग , व्यापार तथा सांस्कृतिक महोत्सव उद्घाटन कार्यक्रममा अतिथि आसनग्रहण तलमाथि बनाएको भन्दै नेकपाका जनप्रतिनिधिहरुले कार्यक्रम बहिस्कार गरेका हुन् ।
बहिस्कार गर्नेहरुमा जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द कुमार पुन, बागचौरका मेयर लोकमान बुढाथोकी, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर, कपुरकोटका अध्यक्ष भीम बहादुर सेन रहेका छन् ।
आयोजकले आफुहरुसँग कुनै समन्वय नगरेर कार्यक्रममा बोलाएर बेजेत गरेको उनिहरुको आरोप छ । कार्यक्रमको सेडुल माग्दा सेडुल नदेखाई आफुहरुलाई तल्लो स्तरबाट एक्कासी आसनग्रहण गराएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले लेकाली अनलाइनलाई बताए ।
त्यस्तै अब नेकपाले सल्यानमा जितेका ७ वटा स्थानीय तहबाट सल्यान उद्योग वाणिज्य संघलाई कुनैपनि सहयोग नगर्ने बनगाडका मेयर तथा नेकपा सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले बताए । उनले अब स्थानीय तहमै उद्योग वाणिज्य संघ गठन गर्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री पछि प्रतिनिधि सभाका सदस्य, प्रदेश सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख हुँदै नगरपालिका प्रमुख र गाउँपालिका प्रमुखलाई आसनग्रहण गरिनुपर्ने उनले बताए । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र अन्य संघसंस्थाका प्रमुखलाई विशिष्ट बनाएर आफुहरुलाई तल झारेको उनको तर्क थियो ।
उद्योग वाणिज्य संघले शारदा नगरपालिकालाई आयोजक र सल्यानका अन्य ९ वटा स्थानीय तहलाई सहआयोजक बनाएकोमा समेत आफुहरुलाई चित्त नबुझेको मेयर पुनले बताए । उनले महोत्सवमा स्टल राख्ने बिषयमा आफुहरुसँग कुनै समन्वय समेत नभएको बताए ।
बुधबार उद्घाटन भएको कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको रहेको थियोे । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, नेपाल उद्योग वाणिज्य महासंघ नेपालीका उपाध्यक्ष चन्द्र ढकाल, मुख्यमन्त्रीका राजनीति सल्लाहकार भीम प्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टको रहेको थियो ।
सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बीरबहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव भरत बस्नेतले गरेका थिए । महोत्सव आगामी फागुन ११ गतेसम्म संचालन हुनेछ ।