२५ औं जनयुद्ध दिवस सल्यानको प्लाटुनचौरमा मनाइयो


फागुन १, सल्यान । सल्यानको बागचौर नगरपालिका ९ प्लाटुनचौरमा सहिदहरुको सम्झनामा विशेष सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । २५ औ जनयुद्ध दिवसको अवसरमा सहिद स्मृति समाजको आयोजना माघ २८, २९ र फागुन १ गते भएको कार्यक्रममा विभिन्न विभिन्न खेलकुद तथा सांस्कृतिक प्रस्तुतिहरु राखिएको हो ।

बिहीबार सम्पन्न भएको कार्यक्रममा चर्चित गायक सौगात सायर र जनवादी गायिका देवी बस्नेतले बेजोड सांस्कृतिक प्रस्तुति राखेका थिए । उनिहरुले कार्यक्रममा प्रस्तुति राख्दा दर्शकहरुले ताली बजाएर जोडदार हल्ला मच्चाएका थिए । सांस्कृतिक कार्यक्रमको संचालन उद्घोषक बिरेन्द्र डिसीले गरेका थिए । 

यसैबीच कार्यक्रममा शुभकामना दिन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाल बिहीबार प्लाटुनचौर पुगेका छन् । कार्यक्रममा बोल्दै उनले सहिदहरुले देखाएको बाटो आफुहरुले कहिल्यै नभुल्ने बताए । उनले सहिदको सम्मानका लागि आफुले आज जिल्लाभरी दौडधुप गरेको बताए ।

कार्यक्रममा बागचौर नगरप्रमुख लोकमान बुढाथोकी,कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्मा, नेकपाका प्रदेश सदस्य लोकबहादुर डाँगी, टिकमराम ओली लगाएको सहभागीता रहेको थियोे । सहिद स्मृति समाजका अध्यक्ष धनेन्द्र विमल ओलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भिम ओलीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार