रिहा भएपछि महराले निकाले वक्तव्य, बाबुरामले गरे यस्ताे ट्वीट


फागुन ५, काठमाडौं । संसद सचिवालयकै महिला कर्मचारीमाथि करणी उद्योगको मुद्दामा सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महराले मुख खोलेका छन् । डिल्ली बजार कारागारमा १०३ दिनसम्म बसेर रिहा भएपछि दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको हैसियतमा सोमबार साँझ प्रेस वक्तव्य निकाल्दै उनले आफूमाथि तथाकथित आरोप लागेको बताएका छन् ।

महराले प्रहरी हिरासतमा ३० दिन र डिल्ली बजार कारागारमा १०३ दिनसम्म बसेर तथाकथित आरोप खेपेको उल्लेख गरेका छन्। ‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु’, उनले भनेका छन्, ‘यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तक, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।’

महराले अब एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनता रक्षाका लागि लड्ने उल्लेख गरेका छन्। ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो’, उनले भनेका छन्, ‘अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’

उनलले आफूमाथि लगाइएको आरोप काठमाडौं जिल्ला अदालतले गलत सावित गरिदिएको बताएका छन्। ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ’, उनले भनेका छन्, ‘सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’ आफूमाथि आइपरेको गम्भीर आरोपका समसयमा साथ सहयोग दिनेलाई पनि उनले सम्झिएका छन्।

‘मेरो पक्षमा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन्।

यसैबीच महरालाइ जिल्ला अदालतले सफाइ दिएलगत्तै पूर्व प्रधानमन्त्री नेता एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पूर्व अनुमान अनुरुप नै अदालतको फैसला आएको दाबी गरेका छन्। भट्टराइले ट्वइट गर्दै उक्त मुद्दा कानूनी नभएर नैतिक भएको बताएका छन्।

उनले भनेका छन्, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ। शायद सत्य त्यही हो।’ साथै नेता भट्टराईले महरामाथि लागेको आरोपप्रति नेपाली समाजमा प्रचलित उखान राखेर महरा र आरोप लगाउने महिला कर्मचारीबीचको मिलोमतोमा भयो भने जे पनि हुनसक्ने आशयको प्रतिक्रिया दिएका छन्।

नेता भट्टराईले भनेका छन्, ‘मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ। तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ। जे हुनु भैगयो। अब बृहद सामाजिक/राष्ट्रिय मुद्दामा केन्द्रित होऔं।’

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार