७० करोड प्रकरण : प्रधानमन्त्रीले बालुवाटार डाके मन्त्री बाँस्कोटालाई, लेखा समितिमा हंगामा


फागुन ८, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएर छलफल गर्ने भएका छन्। सञ्चार मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएकोबारे प्रधानमन्त्रीले जानकारी लिन लागेका हुन्।

प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै भएको भेटमा पनि यस विषयमा छलफल भएको स्रोतले बतायो। ‘प्रधानमन्त्रीलाई भेट्न सञ्चार मन्त्री आउनुहुन्छ। त्यसपछि उहाँले मन्त्रीका कुरा सुन्नुहुन्छ,’प्रधानमन्त्री निकट स्रोतले भन्यो,’प्रधानमन्त्रीसँगको छलफलपछि प्रधानमन्त्रीले जे भन्नुहुन्छ,सञ्चारमन्त्रीले त्यही काम गर्नुहुन्छ।’

मन्त्री बाँस्कोटा नेपालगञ्ज छन्। त्यहाँबाट फर्किएपछि उनी बालुवाटार जाने स्रोतले बतायो।

यसैबीच क्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढीको डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि संसदको सार्वजनिक लेखा समिति बैठकमा हंगामा भएको छ ।

समितिको आजको बैठकले प्रिन्टिङ प्रेस खरिदसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गर्दैगर्दा त्यसअघि नै अडियो बाहिरिएपछि हंगामा भएको हो । अडियो बाहिरिएपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै स्वीस कम्पनीका एजेण्ड विजय प्रकाश मिश्रले लेखा समितिका सदस्यले समेत घुस लिएर निर्णय गर्न लागिएको दावी गरेका थिए ।

सरकारले प्रिन्टिङ प्रेसबारे स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजेछि मिश्रले नै उक्त अडियो डेढ महिना अघि नै प्रधानमन्त्रीलाई दिएका थिए भने बुधबार साँझ सञ्चारमाध्यमबाट पनि लिक गराएका थिए ।

मिश्रले प्रिन्टिङ प्रेस खरिदमा लेखा समितिको समेत मिलेमतो रहेको बताएका छन् । त्यसको खण्डन गर्दै सांसदहरुले मिश्रबाट लेखा समिति माथि आक्रमण भएको आरोप लगाए ।सांसद मिनेन्द्र रिजालले कडा प्रतिक्रिया जनाउँदै लेखा समितिको मिलेमतो र भागभन्डामा नाम उल्लेख गर्ने, सार्वजनिक गर्ने र सेयर गर्नेलाई समेत साईबर क्राईमको मुद्दा लगाउन माग गरे । सांसदहरुले प्रिन्टिङ प्रेस मेसिन खरिबारे सरकारले निर्णय नगर्दै किन फ्रान्स भ्रमणमा गइयो भन्दै प्रश्न समेत उठाएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते बिहिवार