बाँस्कोटा ७० करोड प्रकरण : विप्लवले निकाले यस्तो विज्ञप्ती


फागुन १०, काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी मेसिन खरिद सम्बन्धी कमिसन काण्डमा प्रधानमन्त्री केपी वलीकै संलग्नता रहेको बताएको छ । पार्टीका महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले उक्त काण्डमा संलग्न निवर्तमान संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटालाई बचाउन लागेको बताएका छन् ।

विप्लवले बास्कोटालाई बचाउन घुस काण्डलाई ढाकछोप गर्न लागिएको भन्दै विप्लवले कारवाहीको माग गरेका छन् । सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन (घुस) मागेको विषयले देश तरङ्गित भएको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ । तर प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन् ।” काण्डै काण्डको सरकार पछिल्लो पटक ७० करोड घुसकाण्डमा जाकिएको बताउँदै विप्लवले यसमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको भन्दै निष्पक्ष छानविनको माग समेत गरेका छन् ।

विज्ञप्तिमा विप्लवले भनेका छन्, “केपी ओली सरकार देशका निम्ति अभिशाप भएको छ । पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित छ ।”

महासचिव विप्लवले ठूलो जहाजकाण्ड आदिमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको भन्दै भ्रष्ट र राष्ट्रघाती सरकारलाई बर्खास्तीको लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । केपी वली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको भन्दै उनले यो सरकार एकातिर भ्रष्टाचार र अर्कोतिर न्यायपूर्ण आन्दोलनमा उत्रिएका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, यातना दिने गरिरहेको बताए ।

यसैबीच फागुन ५ गते विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गरेर चरम यातना दिएको विप्लवले उल्लेख गरेका छन् । “यसखाले फासिवादी दमनको पार्टी भत्र्सना गर्दै अधिकारकर्मी, कानुनविद् तथा नागरिक समाजको ध्यानाकर्षण गर्दछ र सबै नेता–कार्यकर्तालाई बिनासर्त मुक्त गर्न माग गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार