सल्यानकाे बागचाैरमा एकैपटक ३ जनाकाे प्रहरीले यसरी गरेकाे थियाे ह’त्या


रमेश मल्ल

२०५४ पुस-माघतिर हिउँदको मौसम चिसै थियो। अखिल (क्रान्तिकारी) सल्यानको जिल्ला समिति बैठकको लागि शिवरथस्थित भरत भावुक सरको घरमा सम्पर्क गर्न भनियो। भरत सरको सम्पर्क हुँदै साँझको खाना खुरखुरे प्रेम वली प्रभातको घरमा खायौं। रात परेपछि गन्तव्यतिर पाइला चाल्यौं, जहाँ हाम्रो बैठक आयोजना गरिएको थियो।

त्यहाँ पुगेपछि थाहा भयो, हामी ढाकाडाम गाविस– ८ किमटाकुरा पुगेका रहेछौं। बैठकमा पार्टीको तर्फबाट विद्यार्थी फ्रया्क्सन इन्चार्ज कमरेड टेक बहादुर बस्नेत ‘सञ्जय’ र संगठनको केन्द्रीय समितिको तर्फबाट वैकल्पिक केन्द्रीय समिति सदस्य गोपाल शर्मा उपस्थित हुनुभएको रहेछ। एकातिर भूमिगत पार्टी नेतृत्वको उपस्थिति, अर्कोतिर अध्यक्ष चन्द्रबहादुर रानालाई राज्यले लगाएको झुट्ठा मुद्धा र वारेन्ट, खुला रुपमा बैठक सम्पन्न गर्ने अवस्था थिएन।

अनेरास्ववियू (क्रान्तिकारी) को १४ औं राष्ट्रिय सम्मेलन व्यापक धरपकड र प्रतिरोधका बीच भर्खरै काठमाडौंमा सम्पन्न भएको थियो। राष्ट्रिय सम्मेलनपछि सम्पन्न भएको केन्द्रीय समिति बैठकका निर्णयलाई जिल्लाको सन्दर्भमा लागु गर्न बैठक बोलाइएको रहेछ। बैठकमा संगठनात्मक निर्णय पनि गरियो।

सोही बैठकबाट संगठनका अध्यक्ष चन्द्रबहादुर राना बिदाइ हुनुभयो भने उपाध्यक्ष टीकाराम वली अध्यक्ष चुनिनुभयो। सोही बैठकले मलाई जिल्ला समिति सदस्यको वैधता प्रदान ग¥यो। पार्टीको निर्देशन र संगठनको केन्द्रीय योजना मुताविक बलिदान दिवसको अवसरमा संगठनले जिल्लास्तरीय केन्द्रीकृत जनप्रर्दशन र सभा गर्ने निर्णय गरियो।

त्यतिन्जेलसम्म सल्यानमा विद्यार्थी संगठनका गतिविधिहरु खुला रुपमा हुँदै आएका थिए तसर्थ उक्त कार्यक्रम थारमारेमा सम्पन्न गर्ने पनि बैठकले निर्णय ग¥यो। जनयुद्ध तेश्रो बर्षमा प्रवेश गर्दै थियो। वर्गसंघर्षले घनिभूत आकार ग्रहण गर्दै थियो। रोल्पा र रुकुमसँगै सल्यानमा पनि वर्गसंघर्षका घटनाहरुको सञ्चार र प्रभाव विस्तार भैरहेको थियो।

उक्त प्रभावलाई रोक्न प्रतिक्रियावादीहरु जनतामा चरम दमन र अत्याचारका हथकण्डा प्रयोग गरिरहेका थिए।  ०५१ को मध्यावधि निर्वाचनमा दुवै क्षेत्रबाट चुनाव जितेका काँग्रेसीहरु जिल्लामा आफ्नो एकछत्र राज कायम गर्न चाहन्थे भने एमालेहरु दमनबाट आहत भएका जनतालाई आफ्नो  सदस्यता भिडाउने अभियान चलाइरहेका थिए।

यसले जनआक्रोशको मात्रालाई झनै बढाइरहेको थियो। हामीले थारमारेमा हजारौं जनसमुदायका बीचमा बलिदान दिवसको शान्तिपूर्ण कार्यक्रम गर्ने योजना बनायौं।  त्यतिबेला १ नं. इलाकामा प्रेम वली, भागीराम वटाला (पछि सहिद हुनुभयो) र रेशम पुन, २ नं. इलाकामा वीरेन्द्र शाही, खगेश्वर शर्मा र रमेश मल्ल (म आफै) तथा ३ नं. इलाकामा रमेश कुमार मल्ल लगायतका साथीहरु कार्यक्रमको जिम्मा लिएर लागेका थियौं।

जनयुद्धको तेश्रो बार्षिकोत्सव जिल्लाका प्रायः सबै इलाकामा विविध कार्यक्रमसहित सम्पन्न भइरहेका थिए। यसले प्रतिक्रियावादीहरुको निद हराम गरेकै थियो। अझ त्यसमा क्रान्तिकारीको हजारौंको जनप्रदर्शनको कुराले उनीहरुले सन्तुलन गुमाइसकेका रहेछन्।  प्रशासनले कार्यक्रमको अघिल्लो दिन नै सदरमुकामबाट दर्जनौं कमाण्डो थारमारे पठाइसकेको रहेछ।

स्थानीय प्रशासनको तर्फबाट कार्यक्रम गर्न नदिने भनेर बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट निर्वाचित थारमारे गाविस अध्यक्ष हेमराज केसीले वैधानिक कार्यक्रम रोक्न नहुने तर्क गर्नुभएछ। त्यो कुरा हामीलाई पछि मात्र थाहा भयो।

कार्यक्रमको दिन दुई नम्वर इलाकाका साथीहरु चौरपानीदेखि नाराजुलुस गर्दै रातपाराको पीपलबोटमा पुगेका मात्र के थियौं, कोटमौलातर्फबाट थारमारे झर्दै गरेको जुलुसमा पुलिसले गोली चलाएको आवाज सुनियो। भागदौड भएको दृष्य हाम्रै आँखाले देख्यौं। पुलिसले हवाई फायर गर्दै केही साथीहरुलाई गिरप्तार गरेछ। यो दृष्यले हामीलाई आक्रोशित तुल्यायो।

साथीहरु सिंहझैं गर्जिएर नारा लगाएर ओरालो झरे।  खगेश्वर शर्मा र मैले जुलुसलाई सिधै थारमारे लैजानुभन्दा बाघचौर लैजान उचित हुने निष्कर्ष निकाल्यौं र सहायक बाटो भएर बाघचौर पु¥यायौं। खरिबोटतिरबाट आउँदै गरेको ठुलो जुलुस अझै आइपुगेको थिएन तर फाँसीवादी सत्ताका बर्दिधारी र चाटुकार भने हामीलाई झम्टीन आइपुगे।

कमाण्डो प्रहरीसँग केही तरबार बोकेका र केही भरुवा बन्दुक बोकेका मुकुण्डोधारीहरु पनि थिए। राइफलका कुन्दा, बुट, लाठी र तरबार एकैसाथ चलाइयो। हामी निहत्था विद्यार्थीमाथिको यो बर्बरता सम्झँदा पनि घृणाको पहाड चुलिन्छ। धनबहादुर थापाले पुलिसलाई सहजै झण्डा खोस्न दिनुभएन।

केहीबेर प्रहरी र उहाँबीच तानातान भो, अरु सिपाही थपिए र उहाँलाई घिर्सार्दै अलिक पर लगेर हाम्रै अगाडि गोली हाने। मेरै छेउमा एक जना भद्र मानिस पुलिससँग ‘यो त मानवअधिकारको हनन भो’ भन्दै थिए। पुलिस र मुकुण्डोधारीले ‘ल तेरो मानवअधिकार’ भन्दै तरबार र कुन्दा प्रहार गरे। उनी रक्ताम्य भइसकेका थिए, घिर्सार्दै अलिक पर लगेर उनीलाई पनि गोली हानियो। मलाई पछि मात्र थाहा भयो उनी नै हेमराज केसी रहेछन्।

एक युवक जसले पुलिसलाई केही भन्न खोज्दै थिए, उनीलाई नियन्त्रणमा लिइएको थियो। घर पछाडि लिएर गोली हानिएछ सायद, उनी थारमारेका शिक्षक खिमबहादुर डिसी रहेछन्। त्यतिन्जेलसम्म हामीले प्रहरीको घेराभित्र बन्दुकको कुन्दाको धेरै चोट खाइसकेका थियौं।

कता फुत्किने, कता लाग्ने सोच्ने अवस्था थिएन। त्यति नै बेला एकजना पुलिसले मेरो पिठ्यूँमा नराम्रोसँग लात हान्यो र भाग साला भनेर करायो। म हुत्तिएर सडक किनारामा पुगें अनि त्यहीबाट उठेर टाप कसें।  बन्दुक पड्किरहेको हुनाले कति जनाको कायरतापूर्वक हत्या गरियो यकिन थिएन।

हामी बाघचौरको माथि ढिस्कोमा उक्लियौं। खरीबोटतिरबाट आएको जुलुसमा पनि गोली चलाएर तितरवितर पारियो। संगठनका जिल्ला अध्यक्ष टिकाराम वली हामी उक्लेको ढिस्कोमै आइपुग्नुभयो अनि हामीले त्यही ढिस्कोमा गोरखाबाट शुरु भएको बलिदानको इतिहासलाई सल्यानबाट नयाँ उचाई प्रदान गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्यौं। दाइ खिमबहादुर डिसीको हत्याको खबरले बहिनी सुम्निमा डिसी लगायत हामी सबैजना स्तब्ध थियौं। यो शहादत सल्यानको लागि जनयुद्धको पहिलो बलिदान थियो।

हामी आफुसहित सहिद परिवारलाई सम्हालिन र शोकलाई शक्तिमा बदल्न अपील ग¥यौं।  कार्यक्रममा टीकाराम वली र सुर्यविक्रम राना (उहाँ पछि सहिद हुनुभयो) ले सम्वोधन गर्नुभयो। गणेश शाही उमेरले सानो मान्छे कार्यक्रममा हामीसँगै आएका थिए। भागदौडमा उनको घाँटीनेरको हाड भाँचिएछ। हामीलाई अर्को आपत आइलाग्यो।

घटनाको भोलिपल्ट रेडियोले थारमारेमा सुरक्षाकर्मीसँगको मुठभेडमा परी तीन ‘आतंककारी’को मृत्यु भएको सामाचार प्रशारण ग¥यो। उक्त बर्बर हत्याको घटनालाई आफ्नै नजरले देखेका सल्यानी जनतालाई यो हदको निकृष्ट प्रचारवाजीले गर्दा सल्यानमा प्रतिक्रियावादी सत्ताका बाँकी रहेका सबै बस्त्र उतारिदियो। प्रतिक्रियावादीहरुलाई लागेको हुँदो हो, हत्या र आतंकले जनता हतोत्साहित हुनेछन् तर स्थिति उल्टो भयो।

जनतामा राज्यप्रति घृणाको सीमा रहेन। हत्या र आतङ्कको स्थान आक्रोश र बदलाको भावले लियो। स्थानीय काँग्रेस कार्यकर्ताहरुमा भागदौड मच्चियो। एमालेभित्रका इमान्दार मान्छेहरु क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियामा सामेल हुन थाले।

घटनाको १३ औं दिनको तिथिमा संगठनका केन्द्रीय कोषाध्यक्ष लेखनाथ न्यौपानेको उपस्थितिमा खरिबोटमा विशाल श्रद्धाञ्जली सभा सम्पन्न भयो। जिल्लाव्यापी रुपमा सहिदप्रति श्रद्धाञ्जली सभा र प्रतिक्रियावादी सत्ताको भण्डाफोर सभाको आयोजना गरियो । जनसरोकार मञ्च सल्यानको नाममा जिल्लाका दक्षिणी गाविसहरुमा अभियान सञ्चालन गरियो।

जसले जिल्लाव्यापी रुपमा माओवादीको पक्षमा सकारात्मक राजनीतिक माहोल खडा भयो।  समग्रमा थारमारे हत्याकाण्डले सल्यानको वर्गसंघर्षमा पुरानो निरन्तरताको अन्त्य र नयाँ निरन्तरताको सुरुवात गरिदियो।

बलिदानको नयाँ आयाम र जनप्रतिरोधको नवीनतम् आधार खडा गरिदियो। बलिदान खेर जाँदैन बरु त्यसले जनतामा चेतना, जागरण र विद्रोहको लाभा बनेर लहराउँछ भन्ने मान्यतालाई यसले सल्यानमा स्थापित गरि छाड्यो। जसको शिक्षा समाज रुपान्तरणको आगामी यात्रामा पनि मार्गनिर्देशक बनिरहने छ।

लेखकको टिप्पणीः यो आलेख युद्धकालमै लेखिएको र घटना, परिवेश र अवस्थालाई यथार्थ चित्रण गर्दा प्रयोग गरिएका शब्दहरु अहिलेको सन्दर्भमा अस्वभाविक/असहज सक्छन् तर त्यतिबेलाको यथार्थतालाई प्रस्तुत गर्न यो आलेखमा कुनै परिमार्जन गरिएको छैन।

थारमारे हत्याकाण्डः जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा बलिदान दिवस मनाउने क्रममा विद्यार्थीहरुको जुलुसमा हस्तक्षेप गरी २०५४ फागुन १४ गते सल्यानको थारमारेमा विद्यार्थीहरु खिमबहादुर डिसी, धनबहादुर थापा र तत्कालीन नेकपा एमालेका थारमारे गाविस अध्यक्ष एवम् मानवअधिकारकर्मी हेमराज केसीको प्रहरीले निर्ममतापूर्वक हत्या गरेको थियो।

लेखक मल्ल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा नेता र अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष हुन्

प्रकाशित मिती २०७६ फागुन १४ गते

प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार