सल्यानका ४ स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना सुरु


फागुन २३, सल्यान । सल्यानका ४ वटा स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) परियोजना सुरु भएको हो । डेभ्लपमेन्ट सोशाईटी नेपाल सल्यानको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित परियोजना शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउपालिकामा सञ्चालन भएको हो ।

बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) शुरु भएको  डेभ्लपमेन्ट सोशाईटी नेपाल, सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले जानकारी दिए । वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यहि देशको काम अनुसारको सिपमुलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमुलक बनाउने परियोजनाको उद्धेश्य रहेको उनकाे भनाइ छ ।

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गर्ने अध्यक्ष डिसीले जानकारी दिए । लुकीचोरी विदेश जाने क्रमलाई रोक्न, सीप र ज्ञान लिएर मात्रै विदेश जानेलाई परामर्श दिन र सकेसम्म आफ्नै ठाउँमा काम गरेर खाने वातावरण बनाउन परियोजनाले मद्धत मिल्ने उनको भनाई छ ।

परियोजना सञ्चालनको लागी चार स्थानिय तहमा यस बर्ष करिब ७० लाख रुपैँया छुट्याईएको छ । परियोजना कार्यान्वयनको लागि १२ जना कर्मचारी छनौट गरिएको छ भने अन्य १२ जना स्वयमसेवकको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार