एमसीसीका विषयमा सभामुख सापकोटाले खाेले मुख


फागुन २७, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सभामुखले तोक लगाइदिने विषय नभएको बताएका छन् । एमसीसीको भविष्य सत्तारुढ नेकपाका दुई अध्यक्षको आपसी समझदारीमा भर पर्ने सभामुखले स्पष्ट पारेका छन् ।

सभामुख सापकोटाले मंगलबार दिउँसो आफ्नै निवासमा सम्पादकहरुसँग कुराकानी गर्दै एमसीसी सभामुखको ‘कोर्ट’ मा नभइ सत्तारुढ नेकपाकै ‘कोर्ट’ मा रहेको स्पष्ट संकेत दिए ।

एमसीसीलाई सभामुखसँग जोडेर हेर्ने गरिएको तर्फ संकेत गर्दै सभामुख सापकोटाले भने, ‘यहाँ एमसीसीको बुझाइ कस्तो भयो भने सभामुखले नै तोक लगाइदिनेजस्तो । वास्तवमा २७५ जना सांसदहरु हुनुहुन्छ, उहाँहरुको भावनालाई समेटेर मैले त्यसलाई निष्कर्षमा पुर्‍याउने कुरा हो ।’

एमसीसीबारे सत्तारुढ दलको निर्णयले महत्वपूर्ण अर्थ राख्ने स्पष्ट पार्दै सभामुखले सापकोटाले भने, ‘सत्तारुढ पार्टी, जसको बहुमत छ, उसले आफ्नो केन्द्रीय कमिटीको बैठकमा विस्तृत, विहंगम छलफल मात्रै गरेन कि कार्यदलै बनायो । कार्यदल बनाएर उसले रिपोर्ट दिएको छ । सचिवालयमा छलफलका लागि त्यो प्रस्तुत पनि गरेको थियो, बैठकमा छलफल गर्ने भनेको थियो, प्रधानमन्त्री अस्पतालमा भएको हुनाले रोकिइराखेको छ ।’

संसदबाट एमसीसी पारित हुन बाँकी रहेको सन्दर्भमा चासो राख्दा सभामुख सापकोटाले आफू अहिले नै यसबारे निष्कर्षमा पुग्न जरुरी नरहेको बताए ।सापकोटाले भने, ‘सत्तारुढ पार्टीकै हाई लेभलमा छलफल चलिरहेको हुनाले मलाई अहिले सुविधा छ । अहिले नै निष्कर्षमा पुगिहाल्नुपर्ने भएदेखि यसमा बढी केन्द्रित भइन्थ्यो । म अहिले नै नगरी नहुने कामहरुमा लागिपरेको हुनाले यसबारेमा सांगोपाङ्गो अध्ययन गर्न पाएको छैन ।’

एमसीसी पारित हुने/नहुने विषयमा सभामुखको भन्दा पनि सत्तारुढ पार्टीका दुई अध्यक्षको भूमिका निर्णायक हुने सापकोटाको तर्क छ । उनले भने, ‘के गर्दा देशको हित हुन्छ, त्यसमा मेरो भूमिका हुन्छ । तर, दुईजना अध्यक्षको वीचको समझदारी के हुन्छ, त्यसले नै यसको भविश्य निर्धारण गर्छ भन्ने लाग्छ ।’

तथापि आफू एमसीसीका सन्दर्भमा उठिरहेका ‘अतिवादी विचार’ को पक्षमा भने नरहेको सभामुख सापकोटाले संकेत गरे । सापकोटाले भने, ‘दुईवटै अतिहरु छन्, दुईवटा अतिका वीचबाट म अध्ययन गर्दैछु । यतिमात्रै भनौं ।’

आफू सभामुख भएर आइसकेपछि संसदको आन्तरिक सुदृढीकरण गर्ने प्रयासमा ध्यान केन्द्रित गरिरहेको सापकोटाले बताए । संसदमा सकेसम्म छलफल होस् र सांसदहरुले बोल्न पाउन् भनेर आफूले अहिलेसम्म रातो बत्ती नबाली बोल्न दिएको बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २७ गते मङ्गलवार