मोदीको प्रस्तावलाई ओलीले स्वागत गरे


फागुन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्ध लड्न सार्क देशका नेतृत्वबीच संवाद आह्वान गर्ने मोदीको प्रस्तावलाई स्वागत गरेका छन्। प्रधानमन्त्रीको आधिकारिक ट्वीटर हेण्डलबाट गरिएको ट्वीटमा भनिएको छ, ‘म प्रधानमन्त्री मोदीजीबाट आएको विचारलाई स्वागत गर्दछु।’

मोदीले शुक्रवार नै ट्वीट गर्दै कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रभावकारी रणनीति बनाउन सार्क देशका नेतृत्वहरुबीच संवाद गर्न प्रस्ताव गरेका थिए। उनले भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने प्रस्ताव अगाडि बढाएका थिए।

प्रधानमन्त्रीको ट्वीटर हेन्डलबाट गरिएको ट्वीटमा अगाडि भनिएको छ- ‘मेरो सरकार घातक रोगबाट हाम्रा जनतालाई सुरक्षा प्रदान गर्नका लागि सार्क सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्न तयार छ।’

मिर्गौला प्रत्यारोपणका लागि दश दिनअघि अस्पताल भर्ना भएका ओलीलाई मोदीले स्वास्थ्य लाभको कामना गरेका थिए। ट्वीट्मार्फत नै ओलीले मोदीलाई धन्यवाद दिएका थिए। मिर्गौला प्रत्यारोपणपछि यो ओलीको पहिलो ट्वीट् हो।

शुक्रवार मोदीले ट्विट गर्दै सार्क राष्ट्रका नेताहरुसँग कोभिड-१९ विरुद्ध कसरी लड्ने भन्ने विषयमा छलफल गर्ने प्रस्ताव सारेका हुन् । ‘सार्क राष्ट्रका नेतृत्वसँग कोरोना भाइरसविरुद्ध दरिलो रणनीति बनाउने विषयमा छलफलका लागि प्रस्ताव गर्दछु,’ उनले ट्वीट गरेका छन्, ‘हामीले हाम्रा जनतालाई कसरी स्वस्थ राख्ने विषयमा भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौँ। एक साथ हामी मिलेर विश्वलाई स्वस्थ ग्रह निर्माणमा योगदान पुर्‍याउन उदाहरण दिन सक्छौँ।’

विश्व अहिले नोवल कोरोना भाइरस कोभिड-१९ विरुद्ध लडिरहेको भन्दै मोदीले विभिन्न तहबाट सरकार तथा जनताले कोरोना भाइरसविरुद्धको लडाइमा काम गरिरहेको बताए।

‘दक्षिण एसिया विश्वको अधिक जनसंख्याको घर, हामीले सारा जनताको स्वास्थका लागि कुनै पनि कसर बाँकी राख्नु हुँदैन्,’ मोदीले लेखेका छन्। पछिल्लो समय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क गतिहिन बनिरहेको छ। २०१६ मा पाकिस्तानको इस्लामावादमा आयोजना गर्ने भनिएको सार्कको शिखर सम्मेलन भारतको असहमतिपछि रोकिएको थियो। त्यसयता सार्क संवादहिनताको अवस्थामा रहेको छ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार