चैत ३, सल्यान । सल्यान त्रिवेणी गाउँपालिका १ काभ्रामा रहेको जनता माविमा विद्यालय व्यवस्थापन समिती चयन निर्वाचन प्रकृयाबाट नगरिएको भन्दै सत्तारुढ दल नेकपाका प्यानलहरुले खारेज गर्न माग गरेका छन् ।
यसअघि अविभावकहरुको बसेको भेलाले निर्वाचन प्रकृयामा गएर विव्यस छनोट गर्ने सहमती गरेपनि गाउँपालिका शिक्षा शाखाले एकलौटी ढंगले निर्वाचनको अन्तिम समयमा आएर काँग्रेस प्यानललाइ छनोट गरेको नेकपाका प्यानलहरुले आरोप लगाएका छन् ।
आइतबार नेकपा समर्थित प्यानलका ३ जनाले उक्त विव्यस गठनलाई ७ दिनभित्र खारेज गरेर पुन: निर्वाचन प्रकृया मार्फत छनोट गर्न जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरीपत्र बुझाएका छन् । फागुन १० गते निर्वाचन गर्ने भनेर काँग्रेस अन्तरगत घडी चुनाव चिन्हबाट ४ जना र नेकपा अन्तरगत कलम चिन्हबाट ३ जनाले पाँच/पाँच हजार दस्तुर तिरेर उमेद्वारी दर्ता गराएको उजुरीपत्रमा उल्लेख छ ।
उम्मेदवारी दर्ता गराएर १० गते निर्वाचन गर्ने कार्य अगाडी बढिरहदा एक्कासी फागुन ७ गते गाउँ शिक्षा शाखाले चुनाव स्थितगित भएको जानकारी गराउँदै काँग्रेस तर्फका उम्मेदवारलाई विव्यस समितिमा छनोट गरेको नेकपा प्यानलको आरोप रहेको छ । उक्त गठन प्रकृयालाई ७ दिनभित्र खारेज गरेर पुनः निर्वाचन प्रकृयामा जानको लागि उनिहरुले उजुरीपत्र पेश गरेको जनाएका छन् ।
आफुहरुको माग सम्बोधन नभए विद्यालमा तालाबन्दी देखि जुलुससम्म गर्ने उनिहरुको भनाई छ । यता जिल्ला प्रशासन कार्यालय सल्यानले शिक्षा शाखा प्रमुखलाई बोलाएर सबै कुरा बुझ्ने बताएको छ ।