भारत बाट तुलसीपुर आउदै गरेका २६ जनालाई फिर्ता पठाईयो


चैत ८, दाङ । भारतबाट नेपालगन्ज हुदै तुलसीपुर आउन लागेका २६ जना भारतिय नागरिकलाई फिर्ता पठाईएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जाँचका लागी स्थापना गरिएको हेल्थ डेस्क तुलसीपुर १३ दमारगाउँबाट उनीहरुलाई फिर्ता पठाईएको हो ।

शनिवार नेपालगन्जबाट तुलसीपुर तर्फ आउदै गरेको बसमा सवार उनीहरुलाई सोधपुछ गर्दा भारत हुदै नेपाल आएको खुलेपछि फिर्ता पठाईएको हो ।उनीहरुले बिजौरीका विभिन्न ईट्टाभट्टामा काम गर्नका लागी तुलसीपुर आएको बताएका छन् । तर उनीहरुले आफुहरुको घर नेपालगन्ज भने पनि स्थायी ठेगाना खुलेको छैन ।

उनीहरु शनिवार भारतको नानपारा देखी नेपाल आएको खुलेको हो । हेल्थ डेस्कमा जाँच तथा सोधपुछ गर्ने क्रममा उनीहरुलाई फिर्ता पठाईएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धनका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएका छन् ।

कोरोना भाईरसको जोखिमलाई मध्येनजर गदै भरखरै भारत देखी आएको हुदा उनीहरुलाई फिर्ता पठाईएको हो । कोरोना भाईरस रोकथाम तथा उच्च सर्तकताका लागी तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा हेल्थ डेस्क स्थापना गरी जाँच गर्न सुरु गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ८ गते शनिवार