चैत्र ९, काठमाडाैं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्।
बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले आवतजावत गरेको नेपालगन्ज उपमहानगरपालिकाले जमुनाहामा सञ्चालन गरेको हेल्थ डेक्सका अहेव शालिकराम कश्यपले बताए। उनका अनुसार चार दिनमा ३३ हजार आठ सय २० जना भारतबाट आएका छन्। आजको अन्नपूर्ण दैनिककाे पहिलाे पृष्ठीमा समाचार छापिएकाे छ,
गड्डार्चाकीमा श्रीसिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजंग मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ। ‘बिहान एक्कासि घर फर्किनेको भीड लागेपछि स्वास्थ्य परीक्षण गर्नै गाह्रो भयो’, सहायक रथी शंकर पण्डितले भने, ‘तापनि हामीले त्यसको व्यवस्थापन गर्यौं।’
जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनमा ६४ हजार ५४ जनाले सीमा वारपार गरेका छन्। शनिबार साँझ ६ बजेसम्म ९ हजार पाँच सय ८८ जना आएका छन्। राति १० बजेसम्म चार पाँच हजार थपिन सक्ने अनुमान छ।
जमुनाहा हेल्थ डेक्सका अहेव कश्यपका अनुसार हरेक दिन भारतबाट नेपाल आउने बढेको बढ्यै छन्। जमुनाहबाट बुधबार सात हजार सात सय २३, बिहीबार आठ हजार ७ सय ५०, शुक्रबार सात हजार सात सय ५९ नेपाली स्वदेश फर्किएका छन्।
पश्चिमी सीमा नाका गड्डाचौकीमा शनिबार बिहान स्वास्थ्य परीक्षणका लागि लामबद्ध नेपाली । तस्बिर : अन्नपूर्ण
सीमामा कोरोना परीक्षणका लागि शुक्रबारदेखि नेपाली सेना पनि खटिएको छ। नेपालगन्ज उपमहानगरपालिकाबाट पनि एक सिफ्टमा दुई जनाका दरले दैनिक आठ जना स्वास्थ्यकर्मी खटिएका छन्। बिहान ६ बजेदेखि राति १० बजेसम्म चार सिफ्टमा स्वास्थ्यकर्मीले कोरोना जाँचिरहेका छन््।
रुपैडियामा कोरोना जाँच गरिरहेको बहराइच जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र चर्दाका इएमटी दीपक मि श्राका अनुसार चार दिनमा ३० हजार भारत प्रवेश गरेका छन्। भारत जाने पनि हरेक दिन बढिरहेका छन्। बुधबार साढे चार हजार, बिहीबार साढे पाँच हजार, शुक्रबार सात नौ हजार र शनिबार १३ हजारभन्दा बढी पुग्ने मि श्राले बताए
भारतबाट हजारौं नेपाली घर फर्किन थालेपछि सुदूरपश्चिममा स्थानीय प्रशासनले संक्रमण हुन नदिन शनिबार विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए। उनका अनुसार कञ्चनपुरका गड्डाचौकीबाहेक अन्य नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको छ। भीमदत्त नगरपालिकामा रहेको सीएमए छात्रावास र जिल्ला प्रशासनको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको उनले बताए।
प्रदेश सरकारले भारतबाट फर्किएका नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ बसिदिन आग्रह गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले सीमा क्षेत्रमा ज्वरो नदेखिएपछि ढुक्क भएकालाई घर गएर केही दिन ‘सेल्फ क्वारेन्टाइन’ बस्न भनेका हुन्। ‘वर्षौंदेखि भारतमा काम गरेर फर्केकाहरूले बुवाआमा, पत्नी, छोराछोरी र छिमेकीलाई जोगाउन पनि घरलाई क्वारेन्टाइन बनाउन आग्रह गर्दछु’, मुख्यमन्त्री भट्टले भने, ‘कोरोनाबाट जोगिन हरेक नेपालीको उत्तिकै जिम्मेवारी छ।’
उनले शनिबार बिहान कैलालीस्थित गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाको स्थिति अवलोकन गरेका थिए। उनले घर जाने बाटोमा रहेका हरेक हेल्थ डेस्कमा झन्झट नमानी ज्वरो मापन गर्न आग्रह गरे।
प्रदेश सरकारले गेटामा निर्माणाधीन मेडिकल कलेजलाई १ हजार शड्ढयाको आइसोलेसन बनाउने भएको छ। मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले शनिबार निर्माणाधीन कलेज निरीक्षण गरेका थिए।
गेटामै रहेको झन्डै ४ सय शड्ढयाको गेटा आँखा अस्पताललाई पनि आइसोलेसन वा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने मन्त्री सुवेदीले बताए। उनले गड्डाचौकी हेल्थ डेस्कलाई दुई थान इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएका थिए। गड्डाचौकीमा सेनाको स्वास्थ्य टोली खटिएको छ।
बजारमा भीड
बाँकेको सीमावर्ती रुपैडिया नाकामा कफ्र्यु लाग्ने भन्दै ठूलो संख्यामा नेपाली शनिबार किनमेल गर्न पुगेका थिए। दैनिक उपभोग्य, वस्तु, खाद्यान्न, तरकारी, नुन, चिनी, तेल, पिठो बोकेर फर्केका थिए। साढे दुई किलो टमाटर किनेर हिँड्दै गरेका नेपालगन्जको जैसपुरका कुँवारे सोनीले बजार बन्द भए पनि टमाटरको चटनी (अचार) बनाएर भात खान सक्ने बताए।
बैजनाथ गाउँपालिका ४ तिलकपुरमा किराना पसल गरिरहेका शिवप्रसाद थारू पसलका लागि केही सामान किनेर फर्कंदै गरेको अवस्थामा जमुनाहा भेटिएका थिए। ‘दुई पैसा सस्तो पर्र्छ भनेर आएको हुँ। सीमा बन्द हुुन्छ भन्छन्। हामीले के खाएर बाँच्ने ? ’, उनले भने।
नेपालगन्जमा बजार बन्द
नेपालगन्ज उपमहानगरपालिकामा अत्यावश्यक सामानबाहेकको आइतबार बजार बन्द गर्ने निर्णय गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा गठित जिल्लास्तरीय कोरोनाविरुद्धको टाक्स फोर्सको शनिबार बसेको बैठकले दैनिक उपभोग्य वस्तु, मेडिकलबाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्ने, आइतबारदेखि लायन्स डेन्टल अस्पतालमा ४० बेडको आइसोलेसन स्थापना गर्ने र वडास्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आइसोलेसनमा बस्न आमनागरिकमा आह्वान गर्ने निर्णय गरिएको छ।
सीमावर्ती बहराइचमै कोरोना संक्रमित फेला परेकाले नेपालगन्ज नाका पूर्ण रुपमा बन्द गर्न टाक्स फोर्सले नेपाल सरकारसँग आग्रह गरेको छ। पश्चिमी सीमा नाका गड्डाचौकीमा शनिबार बिहान स्वास्थ्य परीक्षणका लागि लामबद्ध नेपाली। भारतमा कोरोना भाइरस संक्रमणपछि उनीहरू स्वदेश फर्किएका हुन्।