चैत्र ९, सल्यान । सल्यान बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर बनाएको भन्दै सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा सल्यानले चेतावनी स्वरुप एक विज्ञप्ति जारी गरेको छ ।
आइतबार उक्त पार्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानले जारी गरेको विज्ञप्तिमा मेयर बुढाथोकीले थारमारेमा सार्वजनिक जग्गा अतिक्रमण गरेर महल बनाएको बताएका छन् । ११ वटा बुँदामा मेयर बुढाथोकीका कमजोरी लेख्दै नेकपाले सुध्रिन सुझाव समेत दिएको छ ।
जसमा मेयर बुढाथोकीले नमुना माविको जग्गा अतिक्रम, थारमारे-चौरजहारी सडक मिचेर घर बनाएको, सर्वसाधारणका घडेरी अतिक्रम गरेर अनिम ल्याउन नदिएको नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै इप्रका थारमारेको कार्यालयलाई बाधा पुग्नेगरी जग्गा अतिक्रमण गरेको, साविकको थारमारे गाविसको जग्गालाई आफ्नो निजी बगैंचा बनाएको समेत नेकपाको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी नगरभित्र आफ्ना नातागोता भर्ती गरेको, विकास निर्माणका नाममा स्थानीय सरकारको रकम दोहन गरि आफ्ना कार्यकर्ताको भरणपोषण गरेको, विभिन्न बहाना सर्वसाधारणलाई झुटा मुद्दामा फसाएको विप्लव नेकपा सल्यानको आरोप छ । सर्वसाधारणले भोगचलन गर्दै आएको जग्गामा प्रतिबन्धित गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै सहिद परिवार अभिनन्दनको नाममा बजेट विनियोजन गरि आफ्नै पसलबाट सामान खरिद गरेर अनियमितता गरेको, सार्वजनिक उपभोक्ताको नाममा लिफ्टबाट पानी तानेर निजी प्रयोजन गरेको पनि नेकपा सल्यानले विज्ञप्तिमा जनाएको छ ।
यसैबीच नेकपाले मेयर बुढाथोकीको घरमा व्यापार व्यवसायी गर्नेहरुलाई तत्काल उक्त घर छोडेर अनेन्त्र स्थान्तरण हुन विज्ञप्तिमार्फत अनुरोध गरेको छ । नेकपाले जुनसुकै बेला मेयर बुढाथोकीको घर कब्जा गर्न सक्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
यसअघि मेयर बुढाथोकीले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर बनाएको भन्ने समाचारहरु बाहिरिएका थिए । समाचार अनुसार बुढाथोकीको घर बनेको जग्गाकाे क्षेत्रफल ०–१–३–२ (एक आना ३ पैसा २ दाम) मात्रै दर्ता श्रेस्तामा रहेको नापी कार्यालयको तथ्यांकमा देखिएको छ ।
तर बुढाथोकीको घर अण्डर ग्राउण्ड सहित साढे चार तलाको छ र अगाडी पट्टी मात्रै ४ वटा ठुला सटरहरु निकालिएको छ । अहिले मेयर बुढाथोकीको घर अगाडिको चौरजहारी जाने सडकलाई बन्द गरेर थारमारे बजारको उत्तरतर्फको भागबाट सिधै माथि थारमारे स्वास्थ चौकि जोडेर त्यसैलाई मुख्य सडक बनाउन लागेको हल्ला चलेको छ ।