खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाको रिपोर्ट आयो


चैत्र २३, काठमाडौं । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका सबै ९४ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको बताए । नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी थाई एयरवेज, एयर इन्डिया, सिल्क एयर लगायतका विमानहरुले नेपालमा यात्रुहरु ल्याएका थिए ।

ती विमानका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

यसअघि चीनको वुहानबाट उद्धार गरी खरिपाटीमै राखिएका १७५ जना नेपालीहरुको पनि स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार