गौरीफन्टा नाकाबाट कैलालीका कोरोना संक्रमितसँग सल्यानका एक युवा पनि सँगै आएको पुष्टि


चैत्र २४, सल्यान । कैलालीका कोरोना संक्रमित २१ वर्षिय युवासँगै आउने सल्यानका १ जना युवाको पुष्टि भएको छ । संक्रमित युवासँगै आउने युवा सल्यानको शारदा नगरपालिकाका ८ सिमखर्कका ती युवा कैलालीका कोरोना संक्रमित युवासँग १२ चैतमा गौरीफन्टा नाकाबाट सँगै नेपाल भित्रिएका थिए ।

उनलाई अहिले बर्दियाको बडैयातालमा रहेको क्वारेन्टाइनमा राखिएको छ। बडैयाताल गाउँपालिकाको वडा नम्बर -९ थेसनपुरमा अबस्थित शिबशक्ती आधारभुत बिद्यालयको क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।

अहिले ती युवाको स्वास्थ्य स्थिती सामान्य रहेको र कोरोनाको कुनैपनी संक्रमण नदेखिएको बताएको छ। उनी अहिले स्वास्थ्यकर्मीको निगरानिमा रहेका छन भने उनलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने प्रहरीले बताएको छ।

११ चैतमा नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएकोछ । उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात् सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार