चैत्र २८, सल्यान । सल्यानको दार्मा गाउँपालिकाले राहत वितरणलाइ व्यवस्थित गर्ने गरी निर्णय गरेको छ । कार्यपालिकाको निर्णय अनुसार राहत वितरण कार्यबिधि र मापदण्डका आधारमा छनौट भएका राहत पाउने सूचीमा परेका व्यक्तिहरूको नाम प्रकाशन गरिनेछ ।
वडा कार्यालय गाउँपालिकाको कार्यालयको सूचना पाटीमा र वेबसाइटमा दावी विरोधका लागि ३ दिनको समय दिएर तिनिहरुको नाम सार्वजनिक गर्ने र त्यसपछि अन्तिम नामावली प्रकाशन गरेर वडा कार्यालय मार्फत राहत वितरण गरिनेछ।
मापदण्ड अनुसार छनौटमा नपरेकालाइ राहत पुग्नेगरी सहकारी मार्फत् खाद्यान्न डिपो सञ्चालन गर्ने र सुपथ मूल्यका पसल राख्न लगाइनेछ । सहकारीहरुलाई गाउँपालिकाद्वारा ढुवानीमा अनुदान दिने निर्णय पनि भएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।
कालोबजारी तथा कृतिम अभावलाई रोक्न सबै खाद्यान्न पसलहरुमा मूल्यसूची राख्नुपर्ने र सो सूची खरिद मूल्य, ढुवानी र ऐननियम अनुसार व्यापारीले लिन पाउने मुनाफाको आधारमा गाउँपालिकाले निर्धारण गरे अनुसार हुनेछ ।
व्यवसायीहरुलाई सामान ल्याउनका लागि गाउँपालिकाले आवश्यक सबै सहजीकरण गरिदिनेछ । व्यवसायीले ढुवानी पासका लागि उद्योग वाणिज्य संघ सल्यानका अध्यक्षलाई ९८५७८४४४४० मा सिधै सम्पर्क गर्न सकिनेछ ।