वीरगञ्ज बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि, २६ जनालाइ क्वारेन्टाइनमा राखियाे


चैत्र ३०, वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।

जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए । हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।

‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौं’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’ त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए ।

२६ जनालाइ क्वारेन्टाइनमा राखियाे 

यसैबीच काेरोना संक्रमित भारतीय ३ जना  नागरिकसँग भेट गरेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई शनिबार बेलुका नै नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको हो ।

रिपोर्ट नेगेटिभ आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ । वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीयलाई र छपकैयाकै मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो । पोजेटिभ देखिएका तीनै जना जामे मस्जिदमै रहँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले संक्रमित व्यक्तिको सम्पर्कमा रहेकोले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । ‘वीरगञ्जको छपकैया क्षेत्रमा रहेका मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राखेका छौं’ उनले भने ‘२१ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ, बाँकी पाँच जनाको स्वाब लिन बाँकी छ ।’

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार