बैशाख ७, काठमाडौं । काठमाडौंका विभिन्न इट्टाभट्टामा काम गर्ने सल्यानका ६ सय मजदुर अलपत्र परेका छन् ।रोजगारी खोज्दै काठमाडौं पुगेका उनीहरु लकडानले इटाभट्टा बन्द हुँदा अलपत्र परेका हुन् ।
सगरमाथा टेलिभिजनका अनुसार ६ सय मजदुर मध्ये १ सय २० जना मजदुर खानेकुरा सकिएर पूर्ण रुपमा समस्यामा परेका छन् । उनी सरस्वति एच इट्टाभट्टामा काम गर्दै आएका छन् ।
काम गर्नेसँगै साना नाबालक पनि रहेकाले थप समस्या भएको बनगाड कुपिण्डेका सुरेश बुढामगरले बताए ।अलपत्र मजदुरहरु मध्ये सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिकाका छन् । त्यसबाहेक सल्यानका अन्य तहका सर्वसाधारणहरु पनि छन् ।
लकडाउनले कारखाना बन्द भएपछि बसेको ठाउँबाट पनि हट्न भन्दै इटाभट्टा सञ्चालकले दबाब दिन थालेपछि उनीहरु थप पीडित बनेका छन् । उनीहरुले सल्यानका स्थानीय सरकार तथा जनप्रतिनिधि मिलेर आफ्नो दुःखमा परेका मजदुरको चाँडै उद्धार हुने विश्वास लिएका छन् ।
यसैक्रममा नागरिक दैनिकका अनुसार तनहुँबाट सल्यान हिडेका १९ जनलाई स्याङ्जाबाट पुनः फर्काइएको छ । तनहुँको भिमाद नगरपालिका–८ क्याङदीबेसी खानेपानी आयोजनामा काम गर्न गत माघमा सल्यानको बागचौर र दार्माका २७ जना मजदुर आएका थिए।
तीमध्ये १९ जना हिडेरै घर जाने भनेर एक घण्टा उकालो हिडेर स्याङजाको हरिनास गाउँपालिका प्रवेश गरेपछि यात्रा रोकियो । त्यहाँका जनप्रतिनिधी र स्थानीयले अगाडि बढ्न दिएनन् । जोखिमपुर्ण यात्रा नगर्न अनुरोध गर्दै त्यहाँबाट अगाडि बढ्न नदिइएको हो।
बागचौरका राजेश केसीले भने, “गाउँबाट बारम्वार फोन आईरह्यो । आफन्तले जतिबेला पनि गाउँ फर्की भन्थे। यहाँपनि खाना नपाएर भोकै मर्नुपर्ने स्थिती थिएन। तरपनि श्रीमती र छोराछोरीको न्यास्रोले सताउँदा हिड्न मन लागेको हो ।”
‘मरेपनि गाउँमा आफ्नै परिवारसंग मरिन्छ’, भन्दै निस्किएका उनिहरु फेरी जरेबरमै फर्किएका छन् । जरेबरमा बस्दै आएका उनीहरुले लकडाउन भएपनि गत २५ गतेसम्म काम गरिरहेका बताउँछन्।
‘निर्माणका सामाग्री सकिएपछि काम रोकियो। उता गाउँबाट पनि परिवारले दिनदिनै फोन गर्न थाले। विदेश गएका समेत गाउँ आएका छन्। तिमीहरु किन आउँदैनौ भन्छन्’, राजेशले अगाडि थपे, ‘भोकै मरेपनि गाउँमै मरौँला । बाँचे परिवारसंगै बाँचौँला भनेर हिँडेको। बिचबाटै यहीँ फर्कनुपर्यो।’
घरमा छोराछोरी र बृद्ध भएका बाबु आमाले साह्रै रोईकराई गरेर फर्किन खोजेका दार्माका टेकबहादुर थापाले बताए। उनले श्रीमतीलाई पनि मजदुरी गर्न यतै ल्याएका छन्।
‘गाडीमा जानलाई पुग्ने खर्च छ। गाडीमा जाने पास लिनलाई दमौली पनि धाइयो। मिल्दैन भनेर फर्काए। हिँडेर भएपनि जान आँटेका थियौँ’, उनले अगाडि भने, ‘यहाँ खाना बस्नको समस्या नभएपनि महामारी लागेको बेला परिवारको बेस्सरी याद आउँदो रैछ। कती बेला पुगुलाँ जस्तो हुन्छ। मन पोल्छ। ज्यान यता छ। तर, मनचाही उतै गाउँमा।’
उक्त आयोजनामा कार्यरत मजदुरलाई भिमाद नगरपालिकाले १ सय ४ किलो चामाल, १२ किलो दाल, नुन र खाने तेल १२/१२ पोका राहात उपलब्ध गराएको थियो। मजदुर बस्न मन नगरेपछि वडा कार्यालयले उनीहरुलाई सल्यानतर्फ पैदल जान सिफारिस दिएको थियो।
‘राहात सामाग्री सकियो भने खबर गर्नु। खान बस्नको चिन्ता नलिनु। भखभेकै मर्न दिदैनौँ, नगरपालिकाले हेर्छ भनेका थियौँ। तर, उताबाट परिवारले फोन गरेर घर आउनु मात्र भन्दा रैछन्। जबरजस्ती गरेर जानखोज्नु भयो’ वडाध्यक्ष बुद्धीमान श्रेष्ठले भने।
घर जान नपाई फर्किएका उनीहरुलाई स्थानीय विद्यालयमा बस्ने व्यवस्था मिलाउने उनको भनाई छ । यस अगाडि ति मजदुर त्रिपालमुनी रात कटाउँदै आएका थिए । लकडाउन अवधीभर भोकै बस्न नपर्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ।