प्रकाश शर्मा/ बैशाख ७, सल्यान । सल्यानकाे दार्मा गाउँपालिकाले सहकारी मार्फत राहत वितरण सुरु गरेको छ । सहकारीले सुपथ मुल्य सञ्चालन गरी गाउँपालिका भित्रका सबै समुदायलाई राहत वितरण गरेका हुन । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन भन्दै तीन साता लामो लकडाउनका कारण समस्या भएपछि गाउँपालिका भित्रका सबै समुदायलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालन गरिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादु केसीले बताए ।
प्रति व्यक्ति एक दिनमा एक किलोका दरले विक्री वितरण भईरहेको उनको भनाई छ । गाउँपालिकाले सुपथ पसल सञ्चालन गरेका सहकारीलाई एक मुष्ट अनुदान दिने व्यवस्था गरेको छ । । लगानीको अधिकतम ३ प्रतिशत नाफा लिएर सहकारी कोषमा जम्मा गर्ने गरी सुपथ पसल सञ्चालन भइ रहेका छन् ।
अन्यत्रबाट महंगाेमा स्थानीयबासीले किन्नु पर्ने बाध्यतालाई अन्त्य गर्न सहकारी मार्फत सुपथ पसल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएकाे छ । सहकारी मार्फत २३ टन खाद्यन्न विक्री वितरण भइरहेको छ । नगद नहुनेले भत्ता काड धितो राखेर र सहकारी सदस्यले बचत धितो राखेर खाद्यन्न लिनसक्ने ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था दार्मा गापा ५ का प्रवन्धक सुरेन्द्र प्रकाश केसीले बताए ।
बजारमा ३ हजार पर्ने सोना मन्सुली चामल सहकारीले दुई हजार दुई सय असीमा विक्री वितरण गरी रहेको उनको भनाई छ ।यस्तै दार्मा गाउँपालिकाले दैनिक जीविकोपार्जन गर्न समस्या भएका विपन्न समुदाय तथा मजदुरलाई सहकारी मार्फत नै निःशुल्क वितरण गर्दै आइरहेको छ ।
वडाको सिफारिस र गाउँपालिकाको निर्णय अनुसार उनीहरुलाई राहत वितरण भईरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दावी विरोधका माध्यमबाट सार्वजनिक सूचना गरी अतिविपन्न तथा मजदुरहरको नामावली संकलन गरेको थियो ।