बैशाख ९, सल्यान । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वकाे नेकपा सल्यानले सल्यानका जनप्रतिनिधिहरूलाइ काम नगरेर प्रचारपाजीमा लागेको र कोरोना रोगको समाधानमा ध्यान नदिएको आरोप लगाएको छ ।
राहतका लागि लाखौ रकम विनियोजन भएपनि त्यसलाइ आफुखुशी वितरण गरेको भन्दै प्रतिबन्धित नेकपाले स्थानीय तहका प्रतिनिधिले कार्यकर्ता तथा भोटरलाई लक्षीत गरेर राहत वितरण गरेको आरोप लगाएको हो ।
हालै एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका सेक्रेटरी तुफानले जिल्ला बाहिर रहेका मजदुरको उद्धार गर्न नसकेको र पैदल हिडदै आएकाको क्वारेन्टाइनको व्यवस्थापन नगरिएको भन्दै तत्काल काम गर्न अनुरोध गरिएको हो । यस घडिमा कालोबजारी, महंगी, भ्रष्टाचार, ठगी भएको पाइएमा छानविन गरीने पनि नेकपाले जनाएको छ ।
यसैक्रममा नेकपा सल्यान छत्रेश्वरी कमिटीले पनि राहत वितरण पारदर्शी नभएको जनाएको छ । सो पार्टीका गाउँपालिका इन्चार्ज टोप बहादुर केसीले जारी गरेको विज्ञप्तिमा राहत वितरण आफ्ना कार्यकर्ता मात्रै पाल्नको लागि भएको बताएका छन ।