बैशाख ११, काठमाडाैं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका १४ वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ । सर्लाही धनकौल गाउँपालिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए ।
उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो । र्यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो ।
बैशाख ५ गते अस्पताल पुगेका उनको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएको थियो । ‘ल्याबले रिपोर्ट नेगेटिभ आएको भनेपछि हामीले ७ गते डिस्चार्ज गरेका थियौँ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘तर, दिल्लीबाट आएकाले पुनः परीक्षणका लागि टेकु पठाइएको थियो ।’
टेकुमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । अहिले हरकठवास्थित क्वारेन्टाइनमा रहेका उनलाई अब फेरि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा भन्छन्, ‘अब उनलाई अस्पताल ल्याउँछौँ र कन्ट्याक ट्रेसिङको काम सुरु गर्छौँ ।’
कोरोनालाई जितेर घर फर्किइन् ८१ वर्षीया वृद्धा
नेपालमा हालसम्म काेराेना भाइरस संक्रमितकाे संख्या ४७ पुगेकाे छ । जसमा ९ जना निकाे भएर घर फर्किएका छन् । आज मात्रै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका हुन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् । उनीहरु आमा-छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमा-छोरामा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।
यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
उनीहरुको परिवारकी ५२ वर्षीया बुहारीमा पनि कोरोना संक्रमण हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।