नेपालमा काम गर्ने २ भारतीयमा कोरोना पोजिटिभ, कोठियाघाटलाई लक गरियाे


बैशाख १३, बर्दिया । बर्दियाको कर्णाली (गेरुवा) नदीस्थित कोठियाघाटमा सञ्चालित क्रसरमा काम गर्ने दुई भारतीयमा कोरोना भाइरस पोजिटिभ देखिएको छ। भारतको उत्तरप्रदेश राज्य बहराइच जिल्ला नानपारा निवासी दुई जना मजदुरमा कोभिड–१९ पोजिटिभ पाइएको हो।

लकडाउनका अवस्थामा केही दिनअघि भारतस्थित आफ्नो घर पुगेका थिए। उनीहरुलाई भारतमै परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको भनी भारतीय प्रहरी अधिकारीबाट पत्र प्राप्त भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। पत्रमा उल्लेख गरिएअनुसार बैशाख ५ गते (अप्रिल १७) मा उनीहरु भारत स्थित आफ्नो घर पुगेका थिए।

परीक्षणका क्रममा बैखाश ८ गते पोजिटिभ भेटिएपछि भारतीय अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुलाई सोही दिन पत्राचार गरी जानकारी गराएकको प्रजिअ लामिछानेले बताए । कोठियाघाट क्षेत्रमा कामगर्ने मजदुरहरुमा कोरोना पोजिटिभ भेटिएकाले आवश्यक कारवाही चलाउन भारतीय अधिकारीबाट नेपाललाई अनुरोध गरिएको छ।

नेपाली उद्योगमा कार्यरत भारतीयमा कोरोना पोजिटिभ भेटिएपछि बर्दियास्थित कोठियाघाट क्षेत्रलाई चारैतिरबाट लक गरिएको प्रजिअ लामिछानेले जानकारी दिए। ‘क्रसर धेरै अघिदेखि नै बन्द अवस्थामा छ।’ उनले भने–कामदारहरुलाई नेपालमै वा भारत जाने क्रममासंक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको छ।’

संक्रमण देखिएका भारतीय कामदारसँगै काम गर्ने नेपाली मजदुरको पहिचान गरी स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट अझै आइनपुगेको लामिछानेले बताए।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार