बैशाख १५, दाङ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले कोरोना भाईरस कोविड १९ को सन्त्रासपूर्ण बातावरणमा आफू पनि बाचौ र अरुलाई पनि बचाऔ भन्ने सन्देश दिदै सुरक्षित भएर सेवा दिन सम्पूर्ण औषधि थोक व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाल औषधि थोक व्यवसायी संघ ५ न. प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा सम्पन्न डिजिटल सम्वादमा अतिथि वक्ताको रुपमा बोल्दै केन्द्रिय अध्यक्ष बास्कोटाले औषधि व्यवसाय नाफामुलक मात्र नभई सेवामुलक पनि भएकोले अहिलेको विषम परिस्तिथिमा सम्पूर्ण थोक व्यवसायीहरु एकजुट भएर औषधिको सहज आपूर्ति र व्यबस्थापनमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
औषधि व्यबसाय सुरक्षित हुनुपर्छ साथै सबैको सम्मान पनि हुनुपर्छ भन्ने सोच लिएर अगाडि बढेको विशुद्ध औषधि थोक व्यवसायीहरुको संस्थाको यो उदेश्यलाई साकार पार्नको लागि सम्पूर्ण थोक व्यवसायीहरु एकजुट भएर समान निति र स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको उहाँको धारणा थियो ।
डिजिटल सम्वादमा जोडिनुभएका सबै सदस्यहरुले प्रबिधीको उच्चतम प्रयोग गर्दै यस्तो विषम परिस्तिथीमा पनि केन्द्रिय अध्यक्ष लगायत सहभागि सदस्यहरु बिच विचार आदान प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । डिजिटल सम्वादको सहजिकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो ।