सल्यान बागचौर भरारेका स्थानीयले गरे आफै सडक स्तरोन्नति



बैशाख २०, सल्यान । सल्यान बागचौर नगरपालिका ८ खत्रीगाउँ जँगारघाटबाट भारारे हुँदै कालाखेत जोड्ने मोटरबाटो स्थानीयले स्तरोन्नति गरेका छन् । करिब ४ किलोमिटर रहेको उक्त सडक स्थानीय चुनाव भएयता स्तरोन्नति हुन सकेको थिएन ।

वडा र नगरपालिकालाई धेरै पटक सडक स्तरोन्नतिको लागि आग्रह गरेपनि कुनै सुनुवाइ नभएपछि आफुहरुले नै व्यक्तिगत श्रममा स्तरोन्नति गरेको स्थानीय भिमराज केसीले बताए । ९ घरपरिवारले कालाखेत देखि दिनभर श्रम गरेर भरारेसम्म सडक स्तरोन्नति गरेको उनको भनाइ छ ।

राजनीतिक कारणले आफुहरुलाई सधै स्थानीय सरकारबाट पछाडि पारिएको र कुनै विकासका कामहरुमा सहयोग नगरेको उनलेे दुखेसो गरेको । केहि दिन अघि गाउँ बिरामी हुँदा एम्बुलेन्स जान नसकेर बिरामीलाई बोक्नुपरेको स्मरण गर्दै उनले भने ‘हामी सधै आफ्नै श्रम प्रयोग गरेर विकास गर्ने हो भने धेरै फड्को मारिन्छ, त्यसैले कसैको मुख नताकेर विकास निर्माणकार्यमा एकजुट हुनुपर्छ ।”

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार