वैशाख २२, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो।
भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो। केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
संसर्गबाट कोरोना सङ्क्रमण
नेपालगञ्जमा आज फेला परेका नयाँ कोरोना सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ । नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगञ्ज–८ डिएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
पहिलो सङ्क्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउनेक्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । फेला परेका सङ्क्रमित सातदेखि ५८ वर्ष उमेरका छन् । उनीहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण भएको थियो ।
फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएकामा ३० को नमूना परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई उपचारका लागि खजुरास्थित आइसोलेशन अस्पतालमा पठाइएको छ । नब्बेमध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने बताइएको छ ।
कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बताउनुभयो । उहाँले कोरोना भाइरस जोसुकैमा पनि सङ्क्रमण हुने भएकाले घरबाट बाहिर निस्कन नहुनेमा जोड दिनुभयो ।
नेपालगञ्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको स्वाब परीक्षणका क्रममा पहिलो पटक नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो ।