बैशाख २३, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा नेपालमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारी चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।
यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यसैबीच कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या हालसम्म २ लाख ५२ हजार ३ सय ९३ रहेको छ । संक्रमितको संख्या ३६ लाख ४५ हजार ३ सय २० रहेको विश्व स्वास्थ संगठनले जनाएको छ । संक्रमित मध्य निको भएर घर फर्किनेको संख्या ११ लाख ९४ हजार ९ सय ४२ रहेको छ ।