सल्यान बागचौरमा पेट्रोल पम्पको कालोधन्दा, यसरी हुन्छ कालोबजारीको सेटिङ


खकेन्द्र केसी

बैशाख २३, सल्यान । कोरोना भाइरसको कारण भएको लकडाउनको फाइदा उठाउदै सल्यान बागचौरमा पेट्रोलियम पदार्थमा कालोबजारी भएको पाइएको छ । सल्यान, रोल्पा र रुकुमका सेवाग्राहीलाई सेवा दिन बागचौरमा खुलेको एकमात्र हिमालयन आयल उद्योगले पेट्रोलियम पदार्थमाथि कालोबजारी गरेको पाईएको हो ।

लकडाउनमा खासै गाडी संचालन नहुँदा समेत बागचौरमा पेट्रोलियम पदार्थ अभाव हुने गरेको छ । नेपाल आयल निगमले बागचौरको हिमालयन आयल उद्योगलाई सजिलै पेट्रोलियम पदार्थ उपलब्ध गराएपनि हिमालय आयलले पेट्रोलियम पदार्थ लुकाउदै कालाेबजारी गरेकाे तथ्य लेकाली अनलाइनले फेला पारेको छ ।

बागचौरमा हिमालय आयल उद्योग एक्लै छ । तर अहिले यहाँ पेट्रोलियम पदार्थ नपाएर आसपासमा खुलेका अन्य थुप्रै अवैध पसलहरुमा पेट्रोलियम पदार्थ खुलेआम बिक्रि हुने गरेको छ ।

नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ९६ रुपैयाँ तोकेको छ तर अवैध खुलेआम बिक्रि गर्ने पसलहरुले एक सय ५० रुपैयासम्म पेट्रोल बिक्र गर्ने गरेका छन् । यसरी कालोबजारी गर्नेमा मुख्य सेटिङ मिलाएको छ बागचौरको हिमालय आयल उद्योगले ।

कसरी हुन्छ कालोबजारीको सेटिङ

बैशाख १५ गते नेपाल आयल निगमले एक ट्यांकर पेट्रोल हिमालय आयल उद्योगमा ल्यायो । त्यसको भोलीपल्ट बैशाख १६ गते ट्याक्टर र पिकपमा एक/एक सय लिटरका ड्रम राखेर पेट्रोल लिनेहरुको लाइन थियो ।

जहाँ लेकाली अनलाइनको टिम गएर फोटो खिच्दा एकजना पिकप चालक हतारिदै गाडीबाट झरेर फोटो किन खिचेको भन्दै झम्टन थाले । आफुले पेट्रोल लिन लागेको बताउने ति गाडी चालकले जिल्ला प्रशासनबाट पास कार्ड ल्याएर आएको बताउदै फोटो डिलिट गर्न भने । तर हामीले उनलाई प्रेसको बारेमा जानकारी दिएर फोटो डिलिट गर्न नमानेपछि उनि आफ्नो कुराबाट फिर्ता भए र ड्रममा पेट्रोल भरेर गन्तव्यतिर लागे ।

त्यो दिनका ति पिकप चालक एक उदाहरण पात्र मात्रै हुन् । बागचौरको हिमालय आयल उद्योगबाट ड्रममा पेट्रोल लिएर आसपासका बजारमा अवैध तरिकाले बिक्री गर्ने एकदर्जन बढी पसलहरु छन् । जुन पसलले नेपाल आयल निगमले तोकेको मुल्यभन्दा झण्डै डबल मुल्यमा बिक्री गर्दछन् ।

यसरी बैशाख १५ गते बागचौरमा हिमालय आयल उद्योगमा आएको पेट्रोल बैशाख २० गतेदेखि नै सकिएको भन्दै पम्प बन्द भयो । पम्प बन्द भएपछि मानिसहरु अनेन्त्र अवैध रुपमा बिक्री गरिने पसलमा महंगोमा पेट्रोल किन्न थाले ।

पेट्रोलको अभाव भएको खबर सुनिएपछि बैशाख २० गते लेकाली अनलाइनको टिम हिमालय आयल उद्योगमा पुग्यो । जहाँ पेट्रोल झिक्ने मेसिन बन्द गरेर सटर लगाइएको थियो । हामीले ५ दिनमा पेट्रोल किन सकियो भनेर प्रश्न गर्दै भिडियो खिच्न थालेपछि पम्पका संचालकले हतारिदै पम्प खोलिन् र लाइनमा बसेका सबै बाइकले पेट्रोल राखे ।

अवैधवालाले गोप्यमा लिन्छन् पेट्रोल

सल्यानको बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिका, छत्रेश्वरी र सिद्धकुमाख गाउँपालिकाको केहि भाग, रोल्पा गंगादेव र रुकुम त्रिवेणी गाउँपालिकाका नागरिकहरुले पेट्रोलियम पदार्थ किन्ने एकमात्र पम्प बागचौरको हिमालय आयल उद्योगबाट हो ।

उक्त आयल उद्योगले एकाधिकार बजार बनाउदा सधै नागरिकहरु यसरी महंगो कालोबजारीको मारमा पर्ने गरेका छन् । लकडाउनको समयमा खासै सवारी साधन संचालन नहुँदा पनि पेट्रोल छैन भनेर इमर्जेन्सीमा हिड्ने सवारीसाधनले अवैध रुपमा खोलिएका पसलहरुबाट पेट्रोल किन्ने गर्दछन् ।

ती अवैध पेट्रोल बिक्री गर्ने पसलहरुले हिमालय आयल उद्योग बाहेक अनेन्त्रबाट पेट्रोल खरिद गर्दैनन् । उनिहरुले एकैपटक एकसय लिटरभन्दा धेरै पेट्रोल लिएर जाने गरेको स्रोतले बताएको छ ।

अवैध पेट्रोल बिक्री गर्ने एक व्यवसायीले लेकाली अनलाइनसँग भने, ‘हामीहरु जतिखेर गएर भएपनि गोप्यमा पेट्रोल लिएर आउछौं । पम्पले अरु साधारण मान्छेलाई पेट्रोल अभाव छ भनेर नदिएपनि हामीलाई जति लिटर चाहिए पनि दिने गर्छन् ।’ यसरी पेट्रोल अभावमा जतिपनि पेट्रोल पाउनुको कारण भने उनले खुलाउन चाहेनन् ।

पम्प संचालकको गैरजिम्मेवार जवाफ

पेट्रोलमा भएको अनियमितताको बारेमा सोध्दा हिमालय आयल उद्योगका संचालक लाल बहादुर बस्नेतले गैर जिम्मेवारीपुर्ण जवाफ दिएका छन् । उनले आफ्नो पेट्रोल पम्मको फोटो र भिडियो नखिच्न भन्दै उल्टै पत्रकारलाई प्रलोभन समेत देखाएका छन् ।

लेकाली अनलाइनसँग उनले भने, ‘तपाईहरुलाई म जतिखेर पनि पेट्रोल दिन्छु, हाम्रो बारेमा खोजीनीति नगर्नुहोस् । म तपाईलाइ चाहिने मान्छे हुँ ।’ यस्ता प्रलोभनका कुरा हामीलाइ नदेखाउनुहोस् अनियमितता नगर्नुहोस् भनेर हामीले सोध्दा उनले भने, ‘तपाईहरु जे गर्नुहुन्छ गर्नुहोस्, म मेरो काम गर्छु ।’

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार