बैशाख ३०, बुटवल । नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो ।
प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कपिलवस्तु नगरपालिकाका हुन् ।
हालसम्म १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । अनौठो संयोग नै मान्नुपर्छ, आज अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन नेपालमा पहिलो पटक नर्समा पनि कोरोनाको संक्रमण पुष्टि भएको हो । केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो ।
प्रदेश ५ मा मंगलबारमात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार पनि कपिलबस्तु, रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए । योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ ।
नेपालभर अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। जसमा निकाे भएर ३१ जना घर फर्किसकेका छन्। बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचारत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।