दाङमा प्रदेशका जुनसुकै जिल्लाबाट आएकाको पनि उपचार गरिने


बैशाख ३०,दाङ ।  दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल सञ्चालक समितिले प्रदेशका जुनसुकै जिल्लाबाट आए पनि उपचार गर्ने निर्णय गरेको छ। मंगलबार प्रदेश ५ का संघीय आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीको अध्यक्षतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

अस्पतालमा बिरामी भरिएपछि दाङबाट अन्य लैजान र ल्याउन सकिने भन्दै तयारी अवस्थामा बस्ने निर्णय गरेको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले बताए। जिल्ला बाहिरबाट कोरोना संक्रमित बिरामी आउन लागेको भन्दै सामाजिक संजालमा तीव्र विरोधबीच यस्तो निर्णय गरिएको हो।  तत्कालका लागि कोरोना संक्रमित ३० जनालाई राखेर उपचार गर्न सकिने अस्पतालले जानकारी दिएको छ।

संक्रमितलाई लक्षित गरेर प्रदेश ५ मा भैरहवा, बुटवल, दाङ र बाँकेको खजुरामा भेन्टिलेटर सहितको सुविधासम्पन्न अस्पताल तयारी अवस्थामा राखिएको छ।  त्यसैगरी उपचारका क्रममा मृत्यु भएकालाई बोक्नका लागि तयारी अवस्थामा एउटा एम्बुलेन्स र शव व्यवस्थापनका लागि जग्गाको छनोट गर्ने निर्णय भएको  तुलसीपुर उपमहागनरपालिका कार्यबाहक मेयर नवराज लामीछानेले बताए।  त्यसैगरी बस्न र खानका लागि पनि होटेलको व्यवस्थापन गर्ने निर्णय भएको छ।

 

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार