काङ्ग्रेस नेता बस्नेतको निधन


जेठ  २, दाङ । नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा तेजबहादुर बस्नेतको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनको ६६ वर्षको उमेरमा बिहान ७ बजे काठमाडौँमा निधन भएको तुलसीपुर उपमहानगरपालिका १० का जनप्रतिनिधि समेत रहेका  विद्यार्थी नेता सुवास डाँगीले जानकारी दिए ।
बस्नेत नियमित डायलायसिस गर्ने भएपछि काठमाडौँमा बस्दै आएका थिए ।

विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका बस्नेत प्रजातन्त्र प्राप्तिका लागि लामो समय कारागार बसेका थिए । त्यागी नेता बस्नेत महासमिति सदस्य र क्षेत्रीय सभापतिसमेत भएका थिए । उनले हेटौँडा सिमेन्ट कारखानाको कार्यसमिति सदस्यलगायत विभिन्न निकायमा रहेर काम गरेका थिए । उनको दाहसंस्कार दाङको शीतलपुरघाटमा गरिने डाँगीले जानकारी दिएका छन्

बस्नेतको निधनप्रति कांग्रेस दाङले दुःख व्यक्त गरेको छ । काङ्ग्रेसका युवा नेता सुवास डाँगीले उनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार