जेठ ५, काठमाडाैं । नेपालमा कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखिएको छ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुख्खा खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनिया देखिएको थियो ।
यसैगरी, आइतबार बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म बान्ता भएको थियो । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार महिलाको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको थियो । अर्का युवकको भने थप रिपोर्ट आउन बाँकी रहेको बताइएकाे छ ।
चिकित्सा इतिहास केलाउँदा महिलालाई कोभिड–१९ संक्रमणले तीव्र गतिमा थला पारेको देखिएको छ । उनलाई स्थानीय अस्पतालमा ‘अक्सिजन’ समेत दिइएको थियो । करिब १० दिनअघि सामान्य प्रसूतिका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुँदा उनमा मुटु, श्वासप्रश्वासलगायतका कुनै प्रकारका देखिने स्वास्थ्य समस्या थिएन ।
चिकित्सा इतिहास केलाउँदा बाँकेका युवकमा देखिएको पेटसँग सम्बन्धित वान्ताको समस्या कोभिड–१९को मुख्य लक्षण होइन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ज्वरो, सुक्खा खोकी र थकाइ कोभिड–१९ का मुख्य लक्षण हुन् ।
योबाहेक टाउको दुख्ने, नाक बन्द हुने, टाउको दुखाइ, आँखा दुखेर सुन्निने (कन्जक्टिवाइटिस), घाँटी दुख्ने, पखाला लाग्ने, स्वाद वा गन्ध थाहा नपाउने, छालामा बिमिरा आउने, औंला वा खुट्टाका औंलाको रंग बदलिनेजस्ता समस्या आउन सक्छन् । सीडीसीले भने कोभिड–१९ का बिरामीमा चिसो लाग्नुका साथै पेट र आन्द्रा (ग्यास्ट्रोइन्टेस्टाइनल) सम्बन्धी लक्षण जस्तै, वाकवाकी, वान्ता र पखालाजस्ता सामान्य लक्षणसमेत देखिने उल्लेख गरेको छ ।
नरैनापुर क्वारेन्टाइनमा रहेका युवकको ज्वरो, झाडापखाला देखिएपछि मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु भएको पुष्टि २ जनामा भएको छ । यस्तै हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ भने ३६ जना निको भएका छन् ।