जेठ ७, सल्यान । सल्यानका स्थानीय तहले कोरोना भाईरस जाँचका लागि पिसीआर भिटिएम किट खरिद गर्ने भएका छन् । भारत लगाएत शंकास्पद ठाउँबाट आएका व्यक्तिहरुको पिसीआर परिक्षण गर्न आवश्यक पर्ने स्वाव संकलनका लागि भिटिएम खरिद गरिने भएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय सल्यानमा बसेको विपद ब्यवस्थापन समितिको वैठकले प्रति स्थानीय तहले कम्तीमा ५ सय भिटिएम किट खरिद गर्नुपर्ने निर्णय गरेको छ । बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्नुभन्दा तत्काल परिक्षण गर्ने कार्य राम्रो भएकोले स्थानीय तहहरुलाई किट खरिद गर्ने बाध्यकारी निर्णय गराइएको प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेलले लेकाली अनलाइनलाइ बताए ।
उनका अनुसार एउटा किटलाई साढे २ सय देखि साढे ३ सयसम्म पर्ने छ । बाहिरबाट आएका व्यक्तीलाई तत्काल स्थानीय तहको शिविरमा राखेर जिल्लाबाट स्वाव संकलन गर्ने टोली पठाइने प्रजिअ पोखरेलले बताए । संकलन गरिएको स्वाव परिक्षणको लागि कर्णाली प्रदेशको प्रयोगशाला सुर्खेत र प्रदेश ५ को दाङ पठाइने उनले बताए ।
भारत लगाएत तेस्रो मुलुक र अन्तरजिल्लामा सल्यानका १६ हजार बढी नागरिक रोजगारीका लागि गएकोमा धेरैजसो फकर्ने तयारीमा रहेकोले पिसिआर जाँच पछि मात्रै घर पठाउन उपयुक्त हुने भएकाले भिटिएम खरिद गर्ने निणर्य विपद व्यवस्थापन समितीले गरेको जनाएको छ ।
अहिले पनि सल्यानमा दैनिक ५/६ जना बढी व्यक्तीहरु भारतबाट आउने गरेका छन् । जिल्ला प्रशासन तथा प्रदेश सरकारसँग समन्व गरेर आज मात्रै भारतको फरकफरक ठाउँबाट तिन वटा टोली जिल्ला भित्रिन लागेको प्रजिअ पोखरेलले बताए । अहिले सल्यानमा १२५ जना क्वारेन्टाइनमा बसेका छन् ।
त्यस्तै बन्दावन्दीको समयमा जिल्ला वाहिरवाट आएका ब्यक्तिहरुको जानकारी लिन प्रत्येक स्थानीयतहले अनुगमन समुह गठन गरी परिचालन गर्ने निणर्य बैठकमा गरिएको छ ।
सिमानाका नाकामा कडाई
यसैबीच कोरोना संक्रमण बढ्दै गएको बेला सल्यान भित्रिने नाकामा थप कडाई गरिएको छ । प्रदेश नम्बर पाँचमा पर्ने दाङ सहितका विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सल्यान भित्रिने विभिन्न नाकाहरुमा थप कडाई गरिएको छ । मूख्य नाका कपुरकोट, कालीमाटी सँगै त्रिवेणीका भित्री नाकाहरुमा कडाई गरिएको छ ।
मान्छेहरुको ओहोरदोहार गर्दा कोरोना भाइरस संक्रमण फैलने सम्भावना बढी भएकाले सबै नाकाहरुमा थप सुरक्षाकर्मी सहित कडाई गरिएको प्रजिअ पोखरेलले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरु परिचालन गरेर सबै नाकाहरुमा थप कडाई गरिएको उनले जानकारी दिए । अहिले गोगने गैरीकटेरीका यूवाहरु दाङ सल्यानको सिमा क्षेत्र गैरीकटेरी डाँडा, करेलेचौर, कालापोखरा, हासेपोखरा सिमा नाकामा खटिएका छन् ।
बिशेषतः काफल खान दाङबाट सल्यान आउनेहरु धेरै भएको स्थानियको भनाई छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दै अहिले दैनिक ३ सय जना मान्छेहरु काफल खान लगाएतका कामले सल्यान प्रवेशका लागी आउने गरेका छन् । उनीहरु सबैलाई सम्झाई बुझाई गर्दै दाङ फिर्ता गर्दै आईएको छ ।
सिमा नाकामा आउने उनीहरुलाई केही घण्टा रोकेर सम्झाई बुझाई गराएर फिर्ता गर्दै आएको बताईएको छ । सिमा नाकाबाट मानिसहरु बिभिन्न कामको बाहाना बनाएर ओहोर दोहार गर्दा कोरोना भाइरसको संक्रमण बढी हुने भएकाले यसलाई कम गर्नको लागी सल्यानमा बिशेष सर्तकता अपनाईएको छ ।
विपद पूर्वतयारी योजना बनाउने
मंगलबार बसेको विपद ब्यवस्थापन समितिको बैठकले सल्यानका सबै स्थानीय तहले विपद पूर्वतयारी एवंम प्रतिकार्य योजना बनाउने निर्णय गरेको छ । स्थानीय तहहरुले कोभिड १९ लाई ध्यान दिएर पहिले बनाएका प्रतिकार्य योजनालाई अघि बढाउने निणर्य गरीएको छ ।
मनसुनजन्य पूर्व तयारीको रणनीति र कार्यनीतिलाई परिमाजर्न गरी कोभिड १९ को परिपेक्षमा परिमार्जन गर्ने स्थानीय तहले काम गर्ने प्रजिअ पोखरेलले बताए । बाढी पहिरो, आगलागी जस्ता विपदलाई ध्यान दिएर योजना बनाईने उनले बताए ।