कोरोना परीक्षण बिना नै ५ सय नागरिक सल्यान भित्रिए


जेठ ९, सल्यान । कोरोना भाइरस संक्रमणको परीक्षण विना नै सल्यानमा झण्डै पाँच सय नागरिक जिल्ला भित्रिएका छन् । भारतका विभिन्न स्थानबाट नेपालगञ्ज आएका सल्यानका नागरिकहरु आरडिटी तथा पीसिआर जाँच विनानै जिल्ला भित्रिएका हुन ।

जिल्लाको कपुरकोट नाकाबाट ५८ जना र बबई नाकाबाट ४ सय १२ जना जिल्ला भित्रिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । ठुलो संख्यामा नागरिकहरु आएकाले स्थानीय पालिकाहरु निमार्ण गरेका क्वारेनटाइनको सख्ंया बढाउनु पर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

कपुरकोट नाकाबाट आएका सबैलाई कपुरकोट नाकामा नै रोकेर राखेको र उनीहरुको त्यही नै आरडिटी परीक्षण गरेर सम्बन्धित पालिकाको क्वारेनटाइनममा पठाइने उनको भनाई छ । यस्तै बबई नाकाबाट आएका ४१२ जनालाई बनगाड कुपिण्डे नगरपालिकाका सल्लीबजारमा रोकिएको छ । उनीहरुलाई नगरपालिकामा स्थापना गरिएका क्वारेनटाइनमा राखि स्वास्थ्य जाँच गरिने मेयर गोविन्द कुमार पुनले बताए ।

भारतका विभिन्न स्थानमा रोजगारीका लागि झनण्डै १८ हजार सल्यानी पुगेका छन्  । लकडाउन यता एक हजार आइ सकेको र ६ देखि ७ हजार आउने अनुमान रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

प्रहरी र यातायात व्यवसायीको मिलेमतोमा दुई गुणा चर्को भाडा

भारतबाट नेपालगञ्ज नाकाबाट आएका सल्यानका नागरिकहरुले दुई गुणा भाडा तिरेर सल्यान आइपुगेका छन् ।  बाँके प्रहरी र यातायात व्यवसायीको चर्को भाडा तिराएर जवरजस्ती जिल्ला पठाएको उनीहरुको आरोप रहेको छ । कतिपयले नगद नभएपछि मोवाइल विक्री समेत गरेका छन् ।

कपुरकोट नाकामा आएका नागरिकहरुले प्रतिव्यक्ति १५ सय रुपैँया भाडा तिरेको गुनासो गरे । यस्तै बबई नाकाबाट आएका नागरिकहरुले पनि साढे तीन सय भाडा भाइकोमा एक हजार तिरेर आएको बताएका छन् ।

नेपालगञ्जमा १५ सय नदिए डण्डा लगाउँछौ भन्दै गाडीमा राखेको बनगाड कुपिण्डे नगरपालिकाका गोपीलाल रानाले बताए । भारतमा भन्दा नेपालमा आएपछि थप दुःख पाएको उनको भनाई छ ।

प्रहरी र यातायात व्यवसायीको मिलेमतो चर्को भाडा असुली गरिनु निकै खेद पुर्ण भएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले बताए । लकडाउनको मौका छोरी अलपत्र यात्रुलाई दुख दिएको उनले बताए ।

५८ जनाको गरियाे आरडिटी परीक्षण

बुधबार राती भारतबाट कपुरकोट नाकामा आइ पुगेका ५८ जना, गाडीका चालक र सहचालक गरी ६० जनाको आरडिटी परीक्षण गरिएको छ । उनिहरू सबैको रिर्पोट नेगेटिभ आएको कपुरकोट गाउँपालिकाले जनाएको छ । तर आरडिटी परीक्षण अन्तिम परिक्षण भने हाेइन् ।

कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनका अनुसार वनगाडका ३६ जना, दार्मा गाउँपालिकाका १९ जना, कपुरकोट, छत्रेश्वरी, कुमाखका एक /एक जना र चालक तथा सहचालक गरी ६० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । कपुरकोट गाउँपालिकाले हेल्थ डेस्का कोरोना परिक्षण गरेकाहरुलाई रिपोर्ट दिएर पठाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार