जेठ ११, दाङ । दाङ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ४ जिल्लाका १८ जना काेराेना संक्रमितकाे उपचार भइरहेको छ।
शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको ल्याबमा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएका बर्दिया बढैयातालका १९ वर्षीय संक्रमित पुरुषलाई उपचारका लागि कोरोना विशेष अस्पतालमा ल्याइएपछि यहाँ संक्रमितकाे संख्या १८ पुगेकाे हाे ।
अस्पतालमा बाँके नरैनापुरका ८ जना, कपिलवस्तुका ६ जना र दाङका ३ जनाको उपचार भइरहेको छ। यस्तै शनिवार बर्दियाका एकजना आएपछि बिरामी सख्या १८ पुगेको हो। संक्रमितहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख सर्वेश शर्माले जानकारी दिए। बेलझुण्डी कोरोना अस्पताल १०० आइसोलेसन बेडको हो।